१२ कार्तिक २०८३, बिहिबार

निर्मलाको यौनांगबाट बगेको रगत रोक्न माटो…, दिलीप पनि अर्का ‘छद्म अभियुक्त’

20.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । स्थानीय र पीडित परिवार पछिल्लो समय पक्राउ परेका दिलीपसिंह विष्टलाई पनि अभियुक्त मान्न तयार छैनन् । २४ वर्ष विष्टको घरनजिकै बाघफाटाको लक्ष्मी माविमा पढाएका शिक्षक भट्ट भन्छन्, ‘जेलबाट छुटेपछि मैले दिलीपलाई यो बाटोमा हिँडेको देखेकै छैन ।’

घटनास्थल नजिकैको एक चौधरी होटलमा नयाँ पत्रिकासँग छलफलका लागि भेला भएका ७/८ जना सबैले भट्टका कुरामा सही थापे । भट्टले थपे, ‘गाँजा, चरेस र रक्सी खान्छ, तर जति नशामा भए पनि महिला देखेपछि तर्केरै हिँडेको देखेको छु उसलाई ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

दिलीपलाई पक्राउ गर्नुअघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए । जुन अर्को दिन घटनास्थलमा ओभानै भेटियो । घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटियो ।

दिनहुँ वर्षा भइरहँदा पनि दिलीपको सर्टको च्यातिएको गोजी र कण्डमको खोल २६ दिनपछि ओभानै कसरी भेटियो ? त्यसकारण पनि आन्दोलन मत्थर पार्न प्रहरीले एकपछि अर्को छद्म अभियुक्त खडा गरेको स्थानीयको आशंका छ । दुव्र्यसनका शिकार दिलीपको स्वास्थ्य अवस्था निकै कमजोर छ ।

नयाँ पत्रिका टोली जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतलाई भेट्न सोमबार बिहान जिल्ला प्रहरी कार्यालय पुग्दा दिलीप लरखरिँदै कडायतको कक्षबाट बाहिरिँदै थिए । निर्मलाको साइकल भेटिएको नहर पार गरेर पारि लैजान उनी एक्लैले असम्भव प्रायः देखिन्छ । भोलिपल्ट निर्मलाको शव भिजेको छ, तर नहर वारिको सडक छेउमा भेटिएको उनको किताब ओभानो छ ।

सुरक्षासम्बद्ध स्रोत, जो निर्मलाको शव परीक्षण गर्ने चिकित्सकसँगको सम्पर्कमा छन् । उनका अनुसार निर्मलाका दुवै स्तनको अग्रभाग टोकेर लगभग चुँडिएको अवस्थामा छ । गालामा पनि टोकेका डाम स्पष्ट देखिन्छन् ।

यौनांगबाट बगेको रगत रोक्न माटो राखेर पुरिएको अवस्थामा शव मिल्काइएको छ । ती प्रहरी अधिकृत भन्छन्, ‘फाट्टफुट्ट भए पनि सवारीसाधन चल्ने र मानिसहरूको आवतजावत भइरहने सडकछेउ दिउँसै यी सब गतिविधि भइरहँदा कसैले थाहा नपाउने भन्ने हुनै सक्दैन ।’