शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

नेपालका १० धनी : पशुपति शमशेर भन्दा ज्ञानेन्द्र शाह गरिब, हेर्नुस् सूची

उपेन्द्र महतोदेखि अजेयराज सुमार्गी सम्पत्ति ‘टाइकन’, सिरोहिया परेनन्

दैनिक नेपाल २०७५ भदौ १० गते १८:१०

काठमाडौं, १० भदौ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) अध्यक्ष तथा मोहन शमशेरका नाती पशुपति शमशेर राणाभन्दा पूर्वराजा गरिब भएको तथ्यांक सार्वजनिक भएको छ ।

अमेरिकी पत्रिका फोब्र्सले सम्पत्ति विवरणसहित सार्वजनिक गरेको सूचीमा यस्तो देखाएको छ । एनआरएन नेपालीसहितका सम्पत्ती मुल्यांकन गरेको फोब्र्सले राणालाई सातौं सूचीमा राखेको छ भने पूर्वराजा ज्ञानेन्द्रलाई दशौं नम्बरमा राखेको छ ।

राणाको सम्पत्ति ८४ मिलियन रहेको छ भने पूर्वराजा ज्ञानेन्द्रको सम्पत्ति ५८ मिलियनमात्र रहेको फोब्र्सले उल्लेख गरेको छ । राणा र ज्ञानेन्द्रभन्दा माथि नेपालमा अन्य व्यक्ति धनाड्यको सूचीमा परेका छन् । धनीको सूचीमा राणा एकमात्र राजनीतिक व्यक्ति परे भने, ज्ञानेन्द्र गैरव्यापारिक र गैरराजनीतिकमा परेका छन् ।

त्यसो त फोब्र्सको सूचीमा नेपालमा सबैभन्दा धनी चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी परेका छन् । लगातार विश्वका धनाड्यको सूचीमा दुई पटक परिसकेका चौधरी नेपालको सूचीको १ नम्बरमा छन् ।

उनको सम्पत्ति १.६ बिलियन डलर रहेको छ । उनी विश्वका डलर अर्बपतिको सूचीमा १३४२ औं स्थानमा छन् । चौधरीको नेतृत्वमा देशभित्र र बाहिर ८० भन्दा बढी कम्पनी तथा उद्योग रहेको पत्रिकाले उल्लेख गरेको छ ।

फोब्र्सका अनुसार दोस्रो धनी नेपाली शेष घले हुन् । घलेको कुल सम्पत्ति ४ सय १० मिलियन डलर रहेको छ । उनी अष्ट्रेलियाका ९९ औं धनीको रूपमा सूचीकृत छन् । उनी गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष हुन् भने मेलबर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीका अध्यक्ष हुन् ।

उता गैरआवासयी नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो तेस्रो स्थानमा छन् । उनको सम्पत्ति ३ सय ६० मिलियन डलर रहेको छ । रसियामा पिएचडीको अध्ययन सकेका महतोले इलोक्ट्रोनिक्स, तेल, हेभी मेसिनरी र बैंकिङ लगायतका क्षेत्रमा हात हालेका छन् ।

मिडिया टाइकन कैलाश सिरोहियासँग शितयुद्ध नै चलाएका व्यावसायी तथा थाहा सञ्चारका मालिक अजेयराज सुमार्गी नेपालका चौथो धनीमा परेका छन् । सिरोहिया भने धनाड्यको सूचीमा परेका छैनन् ।

सुमार्गीको कुल सम्पत्ति २ सय मिलियन डलर रहेको फोब्र्सको दाबी छ । सुमार्गी नेपालको हेटौंडामा जन्मिएका हुन् । उनी पुष्पकमल दाहाल प्रचण्डसँगको घनिष्ठ सम्बन्धका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । उनी नेपालका सीमित करोडपतिमध्येका एक रहेको पत्रिकाको भनाइ छ । मुक्तिश्री प्रालिको अध्यक्ष रहेका उनले नेपालमा विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

जनकपुरमा जन्मिएका गैरआवासीय नेपाली आदित्य झा सूचीको पाँचौँ स्थानमा छन् । उनको सम्पत्ति १ सय मिलियन डलर छ । उनी हाल क्यानेडियन व्यवसायी तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा सानिमा बैंकका मालिक मानिने जीवा लामिछाने फोब्र्सको अर्बपति सूचीको छैटौं स्थानमा रहेका छन् । उनी रसियन मार्केटमा सप्लाई हुने एल्सन ब्राण्डको एलसिडी टिभी उत्पादक कम्पनी टेक्नो टस्टका निर्देशक पनि हुन् ।

उनी सन् १९८६ मा इञ्जिनियरिङको अध्ययन पूरा गर्न रसिया पुगेका थिए, त्यहाँ उनले सामसुङ, सोनी र एलजीको डिलरको व्यापार डा. उपेन्द्र महतोसँग सहकार्य गरेर थालेका थिए ।

यता, हङकङमा बसेर व्यापार गर्ने नेपाली व्यवसायी चैनराई सूचीको आठौं नम्बरमा छन् । उनको कुल सम्पत्ति ७० मिलियन डलर रहेको छ । उनको रियल स्टेट र इलेक्ट्रिोनिक्स क्षेत्रमा निकै ठूलो व्यापार रहेको छ । उनी हङकङको साउथ एशियन सोसाइटीको नेतृत्वकर्ता पनि हुन् । उनी ओखलढुंंगामा जन्मिएका हुन् र आफ्ना ब्रिटिस आर्मी बुबाको साथमा हङकङ गएका थिए ।

उद्योगी राजेन्द्र खेतान नवौं धनी व्यक्तिको सूचीमा रहेका छन् । उनको कुल सम्पत्ति ६२ मिलियन डलर रहेको छ । फोब्र्सका अनुसार खेतान परिवारले १ सय वर्षभन्दा अघिदेखि नेपालमा व्यापारको शुरुवात गरेको थियो ।

खेतान गु्रपअन्तर्गत १३ वटा भन्दा बढी कम्पनी तथा उद्योगहरू रहेका छन् । लक्ष्मी बैंक र प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्ष समेत रहेका खेतान सानो उमेरमै सफल बनेका एक नेपाली उद्योगपति रहेको पत्रिकाले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित