
काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कञ्चनपुर घटनाका विषयमा विशेष अनुसन्धान गर्ने निर्णय गरेको छ ।
बालिका बलात्कार काण्डले कञ्चनपुरमा उत्पन्न तनावका विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको आकस्मिक बैठकले घटनाबारे विशेष अनुसन्धान गर्ने निर्णय गरेको हो ।
बालिका निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अभियुक्तलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै कञ्चनपुरमा केही दिन यता लगातार प्रदर्शन भइरहेको छ । प्रदर्शनले हिंसात्मक रुप लिएपछि सरकारले करफ्यु आदेश जारी गर्ने साम्य पार्ने कोसिस गरे पनि स्थिति उस्तै छ ।
घटनाको छानबिन गर्न सरकारले यसअघि उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ । यस विषयमा पार्टीले पनि शनिबारदेखि विशेष अनुसन्धान सुरु गर्ने निर्णय गरेको स्रोतले बतायो ।
साथै, कञ्चनपुरसहित देशका अन्य ठाउँमा भएका बलात्कारका घटनालाई गम्भीरतापूर्कक लिँदै आरोपीमाथि कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा बैठकले जोड दिएको बताइएको छ ।















प्रतिक्रिया