३ कार्तिक २०८३, मंगलबार

पूर्वयुवराज्ञी हिमानीका ५ तस्बिर ७ सञ्जाल साहित्य

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । राजा महेन्द्रले लेखे–

गाजलु ति ठूला–ठूला आँखा, तिर बनी बसे यो दिलैमा
कालो लामो परेली केश, छाल परे कलिलो मायामा

पाकिस्तानी गजल गायक गुलाम अलीको स्वरमा रेकर्ड भएको यो गीतले मायाप्रेमको प्रतिकात्मक सन्देश छरेको छ । यो लेखाईले के पुष्टि गर्छ भने दरबार माया र संवेदनाहिन थिएन ।

महेन्द्रपछि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि साहित्यमा कलम चलाए । उनले देश प्रेमदेखि मायाप्रेमका गीत पनि लेखेका थिए । उनले देश प्रेमका निम्ति जी. शाहका नामबाट लेखे–

बाँच्नु नै छ यदि भने, बाँच नेपाली भई
बोल्नु नै छ यदि भने, बोल नेपाली भई

प्रकाश श्रेष्ठको स्वर भरिएको यो गीत उनको १५ महिने प्रत्यक्ष शासनकालमा नेपालका राष्ट्रिय मिडियामा खुबै प्रशारण भयो । शाही परिवारले साहित्यमा निकै अघिदेखि आफूलाई अभ्यस्त पारेको देखिन्छ ।

कतिपयले खरिदका साहित्य भन्ने आरोप लगाए पनि उनका नाममा आएका सृजनाको अवमुल्यन भने गर्न मिल्दैन । दरबारले साहित्यको निरन्तरता पुस्तासँगै दिइरहेको छ । पुर्वयुवराज पारस शाहले केही नलेखेपनि उनकी पत्नी तथा पूर्वयुवराज्ञी हिमानीको सामाजिक सञ्जालमा केही साहित्य लेखेको भेटिन्छन् ।

उनले लेखेको हो की उनका नाममा विरोधाभाष भन्ने पुष्टि गर्ने सञ्जालको आधार नभए पनि उनकी एक सहयोगी भन्छिन्,‘उहाँ साहित्यमा रूची राख्नुहुन्छ ।’

सामाजिक सञ्जालमा विभिन्न तस्बिरलाई सन्दर्भ झल्काउने गरी दुई लाइन र केही टुक्रा साहित्य हिमानीका नाममा प्रकाशित छन् । उनले साउने तस्बिरसहित लेखेकी छन्–

काँडा पन्छाउँदै बाटोमा हिँड्नु को मजा बेग्लै छ
काँडाबीचको फूल टिपेर चुम्नु को मजा बेग्लै छ

लामो समयसम्म पतिप्रेम नपाएकी र पारसको विवादबीच शाही सौकतलाई कायम राखेकी हिमानीको नाममा पंक्तिमा लेखिएको छ–

प्रेम चाहिएको छ भने
समर्पण खर्च गर्नुस्
विश्वास चाहिएको छ भने
निष्ठा खर्च गर्नुस्
साथ चाहिएको छ भने
समय…

धार्मिक भ्रमण, राजसी योजना र समाजसेवा मात्र होइन, रानीको लाइनमा उभिँदाउभिँदै ढलेको राजतन्त्रको कथा एकातिर भए पनि भान्छामा समेत आफूलाई उभ्याएको पुष्टि गर्ने हिमानीको फरक पंक्ति यस्तो छ–

मानिसको योग्यता र छमता यस्तो हतियार हो
जस्ले जीन्दगी मा अभाव र समस्य बाट मुक्ती दीलाउन सक्छ

नेपालका शक्तिशाली महिलाहरूको सूचीमा मात्र होइन, सुन्दरताको सूचीमा पनि निरन्तर विभिन्न सर्वेक्षणमा पर्ने हिमानी एउटा पंक्ति यस्तो लेख्छिन्–

जतिसुकै राम्रो काम किन नगर्नुस, तपाईंको तारिफ र योगदानको चर्चा केबल चितामा जल्दै गर्दा हुन्छ, या तपाईंका निम्ति चिहान खन्दै गर्दा हुन्छ ।

सम्बन्धलाई चित्रको आकारमा मात्र होइन, तस्बिरमा मात्र होइन शव्दमा पनि उल्लेख गर्न सीपालु तीन सन्तानकी आमा पूर्वयुवराज्ञीले लेखेकी छन्–

हतारमा बन्धन नजोड्नु राम्रो
हिँडेको गोरेटो नमोड्नु राम्रो
जस्तै बाधा र अड्चन आओस्
गासेको सम्बन्ध नतोड्नु राम्रो

हरेक मान्छेका मनभित्र भावना र संवेदनाका पहाड बनिरहेका हुन्छन् । त्यसको बिम्ब जहाँ त्यहिँ देखाउन नसक्दा शव्दको अर्थपूर्ण थुप्रो लगाउने मध्येमा पर्ने उनको अर्को पंक्ति यस्तो छ–

धर्ती माताका सन्तान हामी, कुन धरातल आफ्नो कुन पराइको भनेर छुट्टाउनु भन्दा पनि हामी मानव जाती एकै हौं भनि बुझ्नु जरुरी छ ।

पछिल्लो समय हिमानी ट्रस्टबाट उनी नेपाली दुखीपीडितको सहयोग र सद्भावका लागि उत्रिने गरेकी छन् । केही समयअघि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र, सासु तथा पूर्वरानी कोमलसहित बैंककबाट फर्किएकी उनी राजनीतिक र धार्मिक सहिष्णुताको नेपाली पक्षधरतामा पनि उभिएकी छन् । उनको सातौं शव्द संकल्प यस्तो छ–

हरेक मान्छेमा ‘ताकत र कमजोरी’ दुवै हुने गर्छ ।
माछा ‘जङ्गलमा कुदन सक्दैन’ र सिंह पानीमा राजा बन्न सक्दैन
त्यसैले, महत्व सबैलाई दिने गरौं ।