३ कार्तिक २०८३, मंगलबार

‘नेकपा’का सांसदहरू आत्तिएर खुमलटार पुगेपछि बालुवाटारमा घण्टी बज्यो !

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । निर्मला पन्तको बलत्कारपछि हत्याको घटनाबाट उत्पन्न भएको परिस्थितिका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई घटनाप्रति सम्वेदनशील बन्न आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई फोन गरेर सम्वेदनशील बन्न दवाव दिएका हुन् । शुक्रबार प्रहरीको गोली लागेर १७ वर्षीय किशोर सनी खुनाको मृत्यु भएपछि कैलाली र कञ्चनपुरका सांसदहरूले अध्यक्ष दाहाललाई ललितपुरको खुमलटारमा पुगेर भेटेका थिए ।

नेकपाका सांसदहरू दीपकप्रकाश भट्ट, लेखराज भट्ट र नरबहादुर धामी दाहाल निवास खुमलटार पुगेका थिए । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई महेन्द्रनगरको घटनामा संवेदनशील बन्न र दोषीलाई पक्राउ गरी कारबाही गर्न दवाव दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

शुक्रबारदेखि प्रदर्शन मत्थर हुने अपेक्षा सुरक्षाकर्मीले लिएको थियो । तर, नेकपाका जिम्मेवार केन्द्रीय नेताहरूले कांग्रेसप्रति लक्षित गरेर अभिव्यक्ति दिएपछि प्रदर्शन एकाएक उत्तेजित भएको जनाइएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेको छ । सनी खुनाको मत्यु हुनुका साथै केही प्रदर्शनकारी पनि घाइते भएका छन् ।

नेकपाका सांसदहरूले महेन्द्रनगर घटनालाई लिएर नेता भीम रावलले दिएको अभिव्यक्तिको पनि आलोचना गरेका छन् । नेता रावलले महेन्द्रनगरको हिंसा र प्रदर्शनमा कांग्रेसले घुसपैठ गरेको भनेर आरोप लगाएपछि स्थानीयहरू आक्रोशित भएर शुक्रबार प्रदर्शन गरेका थिए ।

उता, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि निर्मला पन्तको बलत्कार र हत्याका दोषीलाई कारबाही गर्न माग गर्दै सरकारलाई शान्तिपूर्ण प्रदर्शनमा दमन नगर्न आग्रह गरेका छन् । उनले घाइतेहरूको उपचार र प्रदर्शनका क्रममा मृत्यु भएका सनी खुनाका आफन्तलाई क्षतिपूर्तिको माग पनि गरेका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ का सांसद दीपकप्रकाश भट्टले पनि सनी खुनाका आफन्तलाई दश लाख क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गरेका छन् । भट्टले शनिबार बिहान विज्ञप्ति जारी गरेर सरकारलाई महेन्द्रनगरको प्रदर्शनमा संयम बन्न पनि आग्रह गरेका छन् । उनले घटनाको छानविन गर्न उच्चस्तरीय समिति बनाएर दोषीलाई कारबाहीको माग गरेका छन् ।