
काठमाडौं, ९ भदौ । कर्मचारी बौद्धिक श्रमिक हुन् । बुद्धिले काम गर्नुपर्ने । तर बेलाबखत उनीहरु नै आपसमा हातपात गर्छन् । त्यसरी हातपात गर्ने कर्मचारी अब भने सीधै बर्खास्त हुनेछन् ।
प्रस्तावित संघीय निजामती सेवा विधेयकमा हातपात गर्ने कर्मचारीलाई ‘भविष्यमा सरकारी सेवामा अयोग्य नहुने’ गरी बर्खास्त गर्ने प्रावधान राखिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
ट्रेड युनियनको आडमा तल्लो तहका कर्मचारीले माथिल्लो तहका कर्मचारीलाई हातपात गर्ने र धम्काउने क्रम बढेपछि नियन्त्रण गर्न सरकारले कडा कानुनी व्यवस्था गर्न लागेको हो ।
केही समयअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवासम्बन्धी विवादमा ट्रेड युनियनका नेताले उपसचिवलाई दुव्र्यवहार गरेका थिए ।
ट्रेड युनियन यथावतराजनीतिक दलनिकट ट्रेड युनियन यथावत् रहने भएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकमा दलनिकट ट्रेड युनियन यथावत् राख्नुपर्ने राय दिएको छ ।
मन्त्रालयले ट्रेड युनियनमा केही सुधार गरी यथावत् राख्नुपर्ने रायसहित विधेयक बिहीबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको हो ।
कानुनको परामर्शसँगै संघीय प्रणालीमा राजनीतिक दलनिकट ट्रेड युनियनको अस्तित्व यथावत् रहने निश्चितप्रायः भएको छ । सामान्यले भने विधेयकमा युनियन खारेजीको प्रस्ताव गरेको थियो ।
कानुन मन्त्रालयका प्रवक्ता रमेश ढकालले ट्रेड युनियन दर्ता भएर कानुनी अस्तित्व रहेकाले निरन्तरता दिनुपर्ने सुझाव दिएको जानकारी दिए ।
सामान्यका प्रवक्ता सुरेश अधिकारीले भने, ‘कानुन मन्त्रालयको रायसँगै अब प्रस्तावित विधेयक छिट्टै मन्त्रिपरिषद्मा पठाइनेछ ।’ अधिकारीले अनुसार कानुन र अर्थ मन्त्रालयको परामर्श पनि समेटी विधेयक मन्त्रिपरिषद्मा पठाइने बताए ।
प्रस्तावित विधेयकमा कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० वर्ष बनाइएको छ । कुल रिक्त संख्याको १० प्रतिशत उपसचिव र सहसचिवको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था हटाइएको छ । सचिवको समूह साँघुरो पारी लेखापरीक्षण, न्याय, स्वास्थ्य, परराष्ट्र र प्रशासनमा मात्र सीमित गरिएको छ ।















प्रतिक्रिया