
काठमाडौं, ८ भदौ । ‘गृह मन्त्रालय र छानबिन समितिले सुन प्रकरणका लगानीकर्ता भनिएका चेतनाथ भण्डारीमाथि डिफ्युजन नोटिश जारी नगरेकाले उनी पक्राउ परेनन्’, साढे ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिन समिति भंगपछि एक अधिकारीले भने,‘चेतनाथसँगै उनकी पत्नी निकिता भण्डारी पनि सँगै भागेकी थिइन् तर उनीविरुद्ध आरोपपत्र थिएन त्यसैले पक्राउ गर्न सकिएन ।’
केही व्यापारी र गोरे पक्राउपछि सुन प्रकरण र सनम शाक्य हत्याकाण्डको चर्चा सेलाउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह मन्त्रालयका सहसचिव इश्वराज पौडेल संयोजकत्वको छानबिन समितिले प्रतिवेदन बुझाएपछि यो प्रकरणमा एक किसीमको ‘ह्यान्ड ब्रेक’ लागेजस्तो भएको छ ।
समिति भंग भइसकेको छ, अनुसन्धानका लागि सरकारको आधिकारी निर्देशन र खास स्क्वाड तयार पारिएन । त्यतिमात्र होइन, यस प्रकरणमा लगानीकर्ता भनिएका चेतनाथलाई पक्राउका लागि पहल गरिएन । त्यसैको फाइदा उठाएर नेपालमा सिलबन्दी गरिए पनि अमेरिकाको न्युयोर्कलगायतका ठाउँमा चेतनाथले ‘बाजेको सेकुवा’ ब्रान्ड स्थापित गर्न व्यावसाय थालिसकेका छन् ।
‘त्यहि व्यावसायलाई थप लगानी गर्नका लागि बाजेको सेकुवाको स्वामित्वमा रहेको सम्पत्ती बेच्न निकिता काठमाडौं आइन् । उनीविरुद्ध कुनै पनि उजुरी नभएका कारण पक्राउ गर्न सकिँदैन’, सुरक्षा स्रोतले भन्यो,‘आरोपपत्रमा उनको नाम दायर भएन त्यसकारण कानुनसम्मत उनले आफ्ना नाममा भएका सम्पत्ती बेच्ने बाटो खुला पनि छ ।’
चेतनाथले बाजेको सेकुवाबाट आर्जन गरेको सम्पत्तीको ठूलो हिस्सा निकिताका नाममा चल र अचल गरेर बैंकहरूमा राखेका थिए । कतिपय जग्गाजमिन पनि निकिताकै नाममा रहेको स्रोतले बताएको छ ।
बालुवाटारको अपार्टमेन्ट, जग्गा जमिन र नेपालका विभिन्न ठाउँमा बाजेको सेकुवा,सम्पत्ती बेचेर अमेरिका जानका लागि निकिता काठमाडौं आएकी हुन् ।
अमेरिकामा लगानी गर्ने व्यापार भिषा पाएका आप्रवासीलाई त्यहाँ कानुनी रुपमा स्थायी अनुमति (ग्रिनकार्ड) दिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार अमेरिकाको व्यापारिक सहर न्युयोर्कदेखि नै बाजेको सेकुवाको व्यापार उनीहरूले थालेका हुन् ।
सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएको चुडामणी उप्रेती ‘गोरे’को नातामै मामा पर्ने चेतनाथले नेपाल प्रहरीबाट भागेर अमेरिकी नागरिक हुनका लागि यस्तो उपाय अपनाएका हुन् ।
सो प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालिन अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलसँग सनमको लास व्यवस्थापनका विषयमा सिनामंगलमा रहेको बाजेको सेकुवामा गोरेपत्नी नर्बदा खरेल निरुसँगको छलफल चेतनाथले नै गराइदिएका थिए ।
‘सुरक्षा संयन्त्रबाट चेतनाथका नाममा डिफ्युजन नोटिश जारी गर्नका लागि आदेश नभएपछि हुन सकेन । यसमा कस्तो प्रभाव छ भन्ने कुराचाहीँ थाहा भएन’, सुरक्षा अधिकारीले भने,‘बाँकी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेर पठाएको छ ।’
संसारभरका प्रहरीमार्फत विशेष मुद्दाका अभियुक्त पक्राउ गर्नका लागि नेपाल प्रहरीले डिफ्युजन नोटिश जारी गर्दै आएको छ । सुन तस्करी प्रकरणमै मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरे, एसएसपी श्यामखत्रीलगायतलाई डिफ्युजन नोटिश जारी गरिएको थियो । उनीहरूले उक्त नोटिश जारी हुनासाथ आत्मसमर्पण गरे । तर, अभियोगपत्रमा नाम उल्लेख गरिएका लगानीकर्ता भनिएका मध्येका चेतनाथ माथि प्रहरीले ‘किन डिफ्युजन नोटिश जारी गरेन ?’ यहि प्रश्नबाट अनुसन्धान सुरु गर्ला त अपराध महाशाखाले ?
निशा, रक्षाविरुद्ध अभियोग निकितालाई छुट ?
छानबिन समितिले जिल्ला अदालत मोरङमा सुन प्रकरणमा लगानीकर्ताका नाममा मृतक सनम शाक्यकी प्रेमिका भनिने निशा ठकुरी, गोरेकी प्रेमिका रक्षा भण्डारीलगायतको नाम उल्लेख गरि अभियोगपत्र दायर गरेको थियो ।
यहाँसम्मकी छानबिन समितिले बयानका क्रममा गोरेपत्नी नर्बदा खरेलको समेत नाम समावेश गरेको थियो । निशालाई त हिरासतमा समेत लिइएको थियो, साढे ३३ किलो सुन हराउनुको कारणमा निशाको बयानले रोशन श्रेष्ठ, सन्तोष श्रेष्ठलगायतका मानिसको नाम पनि खुलासा भएको थियो । छानबिन समितिले त्यो पाटोलाई भने गहनताका साथ लिएन । तर, लगानीकर्ताका नाममा चेतनाथको नाम जोडे पनि उनकी पत्नी निकितालाई किन छुट दिइयो ? भन्ने प्रश्न अहम् बनेको छ ।
के महाशाखाले छिनोफानो लगाउला ?
विभिन्न अपराधमा ध्यान दिएको महानगरीय अपराध महाशाखाले सुन प्रकरणको छानबिनका लागि गहन अध्ययन थालेको छ । महाशाखा प्रमुख धिरजप्रताप सिंहले उक्त प्रकरणको थप अनुसन्धानका लागि प्रहरी प्रमुख सर्वेन्द्र खनालसहित गृह मन्त्रालयमा अनुमति माग समेत गरेका छन् ।
प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन, घटनाक्रम, मिडियामा आएको तथ्यसहित प्रहरीमा रहेका रिपोर्टका आधारमा महाशाखाले सुन खोज्ने, लुटिएको सुन कहाँ पुग्यो ? भन्ने पत्ता लगाएर तस्करीको एउटा नेक्सस नै तोड्ने योजना बनाएको छ । सुरक्षा स्रोतले भन्यो,‘यो प्रकरणलाई टुंगो लगाउने तयारी गरिएको हो, कुनै न कुनै समयमा निक्र्यौलमा पुगिन्छ ।’
गृह मन्त्रालय आफैं सक्रिय भएर छानबिन समितिले समेत टुंगो लगाउन नसकेको, अनुसन्धानका विभिन्न पाटा खुला छाड्दा महाशाखाले पार लगाउला त ? भन्ने प्रश्न पनि उठेको छ ।















प्रतिक्रिया