३ कार्तिक २०८३, मंगलबार

७ करोडको खेलमा प्रकाण्डलाई ‘काण्डैकाण्ड’का झेल !

26.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । २३ साउनमा काठमाडौंको दक्षिणकालीबाट चन्दा असुलीको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई काण्डैकाण्ड लगाउँदै तीन पटकसम्म पक्राउ गरियो ।

अन्नपूर्ण होटलको सहयोगका लागि रकम माग गरेको मुख्य मुद्दालाई लिएर प्रकाण्ड पक्राउ गरिएको बताइन्छ । पक्राउ गरिएपछि उनलाई म्याद थप्दै अनुसन्धान गरिएको थियो । ७ करोड चन्दा असुली गरेको अभियोग लगाइएको थियो । जसमा प्रहरीले ५ करोड खर्च भएको र २ करोड उनीसँग रहेको बताएको छ ।

बन्दी प्रत्यक्षीकरण रिटसहित चन्दा असुलीमा उनको संलग्नता नरहेको सर्वोच्च अदालतले ठहर गरेपछि रिहा हुनासाथ प्रहरीले उनलाई काभ्रेमा एनसेल टावरमा विस्फोट गरेको अभियोगमा पक्राउ गरेको थियो ।

केही दिन काभ्रेमा रखिएपछि पुनः प्रकाण्डलाई सर्वोच्च अदालतले त्यसमा पनि सफाई गर्दै रिहाको आदेश विहीबार दियो । तर प्रहरीले पुनः पक्राउ गरी उनलाई नुवाकोट विस्फोट र आगजनीको अभियोगमा पक्राउ गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गरेको उनको दलले विभिन्न ठाउँमा विस्फोटसमेत गराएको थियो । त्यतिखेर प्रकाण्डले चन्दा बटुलेको अनुसन्धानमा देखिएको प्रहरीको दाबी थियो ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका प्रकाण्डले सबैभन्दा बढी साना उद्योग तथा कलकारखानाबाट चन्दा उठाएको देखिएको छ ।

महङ्गो शुल्क लिएका विद्यालहरुबाट पनि विभिन्न बहनामा चन्दा लिएको देखिएको छ । पाँच लाख रुपैयाँदेखि १५ लाखसम्म चन्दा लिएको देखिएको हो ।

चुनाव अघिदेखि नै अर्ध भूमिगत रहँदै आएको यो पार्टी २०७० पुसमा तत्कालीन नेकपा माओवादीबाट (मोहन वैद्य किरण समूह) फुटेको थियो ।

प्रहरीको यो अभियोगबाहेक प्रकाण्ड निरन्तर पक्राउ गरिनुमा गृहमन्त्री रामबहादुर थापा बादलको ‘इगो’ र अन्नपूर्ण होटलकी सञ्चालक सृजना राणाको पहुँच को दबाब रहेको जानकारहरू बताउँछन् ।

थापालाई विप्लव समुहले कारवाही सूचीमा राखी उनीविरुद्ध अभियान नै चलाएको इगोका कारणले पनि प्रकाण्डलाई गृहको दबाबमा प्रहरीले पक्राउ गरेको बुझिएको छ । उता, सरकारका उपल्लो तहसम्म पहुँच भएकी सृजना राणाले गृह मन्त्रालयसम्म प्रभाव राखेका कारण आफ्ना नेता पक्राउ गरिरहेको नेकपा विप्लव समुहका एक जिल्ला नेताले बताएका छन् ।

‘हामीलाई काम लगाएवापतको रकम नदिनका लागि हाम्रा नेतालाई पक्राउ गरी मुद्दा हालिएको छ, यसको ठूलै मुल्य चुकाउनुपर्ने समय आउनसक्छ’, ति नेताले दैनिक नेपालसँग भने,‘अदालतको आदेशलाई समेत पालना नगरी, मानवअधिकारको हनन् गर्दै राज्यले नांगो नाच देखायो ।’