
काठमाडौं, ७ भदौ । नेकपाको प्रदेश नेतृत्वका लागि प्रदेश तहबाटै अध्यक्षको नाम सिफरिस गर्न केन्द्रले बनाएको सिफरिस समितिहरुले काम गरिरहेका छन् । तर हाल सम्म अन्तिम टुङ्गो भने कुनैपनि प्रदेशबाट लागेको छैन ।
समितिहरुले पाएको समय सीमा समेत गुज्रिएर पुनः थप गरिएको अवस्थामा यतिवेला केहि प्रदेशहरु भने आफ्नो प्रदेश अध्यक्षको अन्तिम टुंगोमा पुगेका छन् । प्रदेश ७ मा प्रदेश अध्यक्षमा तत्कालिन एमालेका पोलिटव्युरो सदस्य कर्णवहादुर थापा र सचिवमा तत्कालिन माओवादीका लक्ष्मीप्रसाद जोशीको नाम सिफारिस भएको छ ।
नेकपामा यसअघि भएको समझदारीका अनुसार ७ प्रदेशमध्ये तत्कालिन एमालेले ४ र माओवादीले ३ प्रदेशको नेतृत्व पाउने सहमति भएको थियो । तर पनि हाल सम्म कुन प्रदेशमा तत्कालिन कुन पार्टीले नेतृत्व पाउने भन्ने समेत यकिन भएको छैन । यद्दपी तत्कालिन एमालेले प्रदेश १, ३, कर्णाली र ७ नम्बर प्रदेशको अध्यक्ष पाउने र माओवादीले २, गण्डकी र ५ नम्बरको नेतृत्व पाउने सम्भावना छ ।
यस्तै प्रदेश ५ मा भने तत्कालिन एमाले र माओवादीबाट एक–एक जना सिफारिस भएका छन् । एमालेले अध्यक्ष पाएमा दलवहादुर राना मगरको नाम सिफरिस गरिएको छ भने माओवादीले पाएमा गणेशमान पुन बन्ने बताईएको छ ।
यी बाहेक अन्य प्रदेशको नाम सिफरिस भएको छैन ।
चर्चामा आएका नेताहरुमा भने प्रदश १ मा तत्कालिन एमालेबाट धेरैजना आकांक्षी देखिएका छन् । जगन्नाथ खतिवडा, नरेश खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र राई, राजेन्द्र गौतम लगायत नेताहरु प्रदेश अध्यक्षका लागि दावेदार मानिएका छन् । माओवादीबाट यो प्रदेशमा नेतृत्वको कुनै दाबी नभएको नेताहरु नै बताउँछन् । यद्दपी प्रदेश सचिवका लागि भने सावित्रीकुमार काफ्ले, टंक आङबुहाङ, सुदन किराती लगायतका नेता चर्चामा छन् ।
प्रदेश २ को अध्यक्षमा तत्कालिन माओवादीबाट विश्वनाथ साह र प्रभु साह प्रबल दाबेदारका हुने सम्भावना छ । तत्कालिन एमालेबाट अध्यक्ष पाउने अवस्था भएमा नागेन्द्र चौधरी र सत्रुघन महतो दाबेदार हुन् ।
प्रदेश ३ बाट अध्यक्षमा निवर्तमान कानुनमन्त्री शेरवहादुर तामाङ दाबेदार देखिएका छन् । नेकपा एमालेबाट दुई पटक केन्द्रीय सदस्य भइसकेका तामाङसँगै काशिनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठदेखि आनन्द पोखरेल लगायत प्रमुख पंक्तिमा छन् । यो प्रदेशको नेतृत्व तत्कालिन एमालेले पाउने समझदारी शीर्ष तहमा भए पनि तत्कालिन माओवादीका नेताहरु हितमान शाक्य, नारायण दाहाल, हितबहादुर तामाग लगायतले अध्यक्षमा ईच्छा देखाएका छन् ।
प्रदेश ४ को अध्यक्ष माओवादीको पोल्टामा गयो भने हरि अधिकारी बन्ने सम्भावना छ भने तत्कालिन एमालेका खगराज अधिकारी, तुलबहादुर गुरुङ लगायतका नेताको पनि चर्चा छ ।
कर्णाली प्रदेश अध्यक्ष एमालेले पाएमा यमलाल कँडेल चर्चामा छन् । यस्तै प्रकाश ज्वाला, गोरखवहादुर बोगटी लगायत प्रमुख दाबेदार हुन् ।















प्रतिक्रिया