
काठमाडौँ, ७ भदौ । निर्मला पन्तको बलात्कार गरि हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दे कञ्चनपुरको भीमदत्तनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरी र प्रदर्शनकाबीच झडप हुँदा २ जना प्रहरीसहित ८ जना घाइते भएका छन् ।
ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा च्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।
घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते हुनुभएको छ । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ । आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरवासी आन्दोलनमा छन् । गत आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हत्याको अभियुक्त भन्दै प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । मानसिक सन्तुलन गुमाएका विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको आरोप लगाउँदै स्थानीयवासी तीन दिनदेखि आन्दोलनमा छन् ।
गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो।















प्रतिक्रिया