२१ कार्तिक २०८३, शनिबार

साउनमा मात्र ८२ जना स्क्रब टाइफस सङ्क्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ भदौ । गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४/७५ मा दुई हजार २ सय ३७ जनाको नमूना परीक्षण गर्दा ४ सय १० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

साउनमा जिल्लामा ५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३ सय ४६ जनाको परीक्षण गरिएको थियो । डेङ्गु सङ्क्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन् । अघिल्लो आवमा ५९ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । एक हजार ४ सय ८३ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । जसमध्ये ३३ जना चितवनका रहेका थिए । डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ । कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताउनुभयो । मानिसबाट मानिसमा सरेर आएको फ्लूलाई स्वाइन्फ्लू भन्न नमिल्ने उहाँको भनाइ छ । –रासस