३ कार्तिक २०८३, मंगलबार

एशियाली खेलकूद : दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर, हालसम्म कसले कति पदक जिते ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–कुमार चौलागाई

काठमाडौँ, ७ भदौ । इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको बिहीबारसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ ।

महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् ।

अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कूल २७९ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।

पदकको आशा गरिएको तेक्वान्दोमा पनि नेपालको प्रदर्शन जम्न सकेन । तेक्वान्दोमा महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले आज नेपालको चुनौती प्रस्तुत गर्नेछन् । अन्य खेलाडी भने यसअघि नै बाहिरीए ।

बुधबार पाँचौँ दिनको खेल सकिँदासम्म नेपालको फुटबल, कुस्ती, उसु, लनटेनिस र सुटिङमा चुनौती समाप्त भएको छ । नेपालले २९ खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतियोगितामा भारतबाहेक दक्षिण एशियाली मुलुक सबैको अवस्था उस्तै छ । अहिलेसम्म नेपालसहित पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्काले पदक तालिमा खाता खोल्न सकेका छैनन् । अफगानिस्तानले भने उसुको ६५ केजी तौल समूहमा बुधबार एउटा कास्य पदक जितको छ ।

भारतले प्रतियोगितामा चार स्वर्ण, तीन रजत र आठ कास्य गरी १५ पदक जित्न सफल भइसकेको छ । प्रतियोगितामा सहभागी ४५ मुलुकमध्ये पाँचौँ दिनको खेल सकिँदासम्म २४ देशले पदक जित्न सफल भएका छन् । अहिलेसम्म चीनले सर्वाधिक ४४ स्वर्ण, ३३ रजत र १५ कास्य गरी ९२ पदक जितेको छ । त्यसैगरी चीनलाई पच्छ्याउँदै जापानले २० स्वर्ण, २३ रजत र २६ कास्यसहित ६९ पदक जित्न सफल भएको छ । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् ।

यो समाचार तयार पार्दासम्मको पदक तालीका यस प्रकार छ ।

देश                स्वर्ण रजत कास्य जम्मा
चीन                ४४    ३३     १५   ९२
जापान               २०  २३     २६    ६९
दक्षिण कोरिया  ११   १६       २३   ५०
इरान                  ९     ६       ६      २१
इण्डोनेसिया       ६       ४     ७     १७
उत्तर कोरिया       ५      २    ३      १०
विज्वेकिस्तान        ४     ५    ६    १५
थाइल्याण्ड           ४      २     ११     १७
भारत                   ४      ३      ८     १५
चाइनिज चाइपेई   ३     ४       ८     १५
मङ्गोलिया             ३      २      ४     ९
काजाकिस्तान       १      ६      १५   २२
लेबनान                 १       १      २     ४
मलेसिया               १       १      १      ३
मकाउ                  १       १     –      २
फिलिपिन्स            १       –     ५     ६
सिंगापुर                १       –      ३     ४
जोर्डन                   १        –     २     ३
किर्गिस्तान            –        ४     ५    ९
भियतनाम             –       ४      ७   ११
हङकङ               –        २     ७     ९
तुर्कमिनिस्तान      –        १      १     २
म्यान्मार                –       –    २      २
अफगानिस्तान      –       –     १      १