३ कार्तिक २०८३, मंगलबार

अठारौँ एशियाली खेलकुद: चाइनिज ताइपेइसँग भलिबल खेल्दै नेपाल

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ भदौ ।  इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ ।

समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ रहेका छन् । नेपालले दोस्रो खेल यही भदौ ८ गते दक्षिण कोरियासँग खेल्ने जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । एशियाली खेलकूद प्रतियोगितामा पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालको राष्ट्रिय भलिबल टोलीले ३२ वर्षपछि एशियाली खेलकूदमा सहभागिता जनाएको हो ।

नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो । नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरबबहादुर बम र विशालबहादुर विक रहेका छन् । प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोन्जे तथा व्यवस्थापकमा भरतबहादुर शाह रहनुभएको छ ।

नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दै 

श्रीलंकामा एसिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

सोमबार श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकाको आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । उक्त खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको घरेलु मैदान पानागोडामा हुने नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । नेपाली टोलीले श्रीलंकामा रहँदा त्यहाँको तीनवटा स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने छ । दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलंकाको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ । यही भदौ ११ गते नेपाली टोली श्रीलंकाबाट मलेसिया प्रस्थान गर्नेछ ।

नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् ।

वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । वेस्ट इण्डिजमा त्यहाँको घरेलु लिग खेलिरहेका सन्दिप अभ्यास खेलमा सहभागी हुनेछैनन् । उनी वेस्ट इण्डिजबाट सोझै प्रतियोगिता खेल्न मलेसिया जानेछन् ।