
काठमाडौं, ५ भदौ । त्यसै त महिला चेतनाका हिसाबले पछि परेको छ मधेस । महिलाको अनिवार्य सहभागीताका नाममा खानदानी, रकमी र नेतापत्नीले मात्र अवसर पाउने गरेका छन् ।
अवसर पाए पनि मधेसको हितमा काम गर्नभन्दा काण्डहरूमा रमाउने केही सन्की मधेसी नेत्रीहरूले राज्यसत्तामा अवसर पाएका छन् ।
सरिता गिरी अहिले प्रतिनिधि सभामा संघीय समाजवादी फोरमका तर्फबाट सांसद छिन् । उनी सद्भावना आनन्दीदेवी हुँदैदेखि काण्ड मच्चाउने महिला नेत्रीमा पर्छिन् । उनले मधेस आन्दोलनका नाममा सद्भावनाको नेतृत्व लिँदा गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दीदेवीलाई विरामी हुँदा नि बोक्न छाडिनन् । अन्ततः उनको निधन भएपछि गिरीले मधेसमा विकल्पको दल रोजिन् ।
सद्भावनामा रहेका बेला तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारमा श्रममन्त्री रहेकी उनले वैदेशिक रोजगार विभागमा अर्को उत्पात गरिन् । जसका कारण मन्त्री पदको जागिर नै गयो । भट्टराईका विश्वासपात्र तथा विभागका तत्कालिन महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई हटाउनु गिरीका लागि त्यसबेला घाटाको व्यापार बनिदियो ।
पहिलो संविधानसभा निर्वाचन (२०६४) सालमा पर्सा–१ बाट चुनाव जितेकी करिमा बेगम ०६६ मा कृषि राज्यमन्त्री बनिन् । कृषि राज्यमन्त्री हुँदा राम्रो गाडी नदिएको भन्दै पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर चर्चामा आएकी बेगम अहिले प्रदेश २ को प्रदेशसभा सांसद छिन् ।
समानुपातिकतर्फबाट प्रदेशसभा सांसद बनेकी बेगम संघीय समाजवादी फोरमको केन्द्रीय सदस्यसमेत हुन् । वीरगञ्ज स्थायी घर भएकी बेगम गत साता प्रदेशसभाको बैठकमा सहभागी हुन जनकपुर जाँदा त्यहाँको ‘होटल मानकी’मा बसेर बैठकमा सहभागी भइन् । सिडिओलाई थप्पड हानेर उनले आफूलाई विवादीत कोटीमा पारेकी थिइन् ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले काखी च्यापेका कारण राजनीतिको केन्द्रविन्दुमा पुगेकी नेत्री हुन्, रेणु यादव । यादव उपेन्द्रसँगको सम्बन्धका कारण विवाद र चर्चामा आउने त गरेकी थिइन् तर गत स्थानीय तह तथा प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि उनको काण्ड सतहमा आयो ।
सप्तरीका केही स्थानीय तहको टिकट वितरणमा एकलौटी गरेको भन्दै असन्तुष्ट कार्यकर्ताले यादवलाई उनकै घरभित्र थुनेर प्रदर्शन गरेका थिए । पार्टीलाई आफ्नो खल्तीमा रहेको ठान्ने यादवकोे घर अगाडि सडकमा टायर बालेर असन्तुष्ट कार्यकर्ताले विरोधमात्र गरेनन् उनको घरमा ढुंगा हान्दा प्रहरी परिचालन गर्नु परेको थियो । काण्ड थियो– बेल्ही चपेना गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र सिंहको टिकट खोसेर आफू निकटका चित्रंगन यादवलाई टिकट दिनु ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झापत्नी डा. डिम्पल झा केही समयअघि प्रदेश २ को मन्त्री नियुक्त भएपछि गौर जाँदा ५० औं गाडीको लावालस्कर लगाएका कारण विवादमा आइन् ।
अनिल झाले समानुपातिकमा प्रदेश सभामा सांसद बनाएको लामो समयपछि उनलाई मन्त्री नियुक्त गरिएको थियो । दलबल मन पराउने झा फेरि त्यस्तै प्रकरण दोहोराएका कारण विवादमा आइन् । सोमबारमात्र उनले पति अनिलसहित लावालस्कर लगाएर बागमती नदिनको कटान हेर्ने बाहनामा प्रदेश २ सरकारको स्रोतको दुरुपयोग त गरिन् नै प्रहरीलाई सुरक्षा गर्नका लागि सास्ती पनि दिइन् ।















प्रतिक्रिया