३० आश्विन २०८३, शुक्रबार

हो, छोरीको भ्रुणहत्या गरिदेऊ !

20.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल

तिमी गरिब छौ ? तिम्रा छोरीचेली छन् ? अथवा जन्मिन लागेका छन् ? अचेल च्याउसरी खुलेका सरकारी मान्यताप्राप्त गर्भपतन सेन्टर ठाउँ–ठाउँमा छन् । हो, यहिँबाट सुरु गर्छु – छोरीको भ्रुणहत्या गरिदेऊ !

हुर्काएर के गर्छौ ? तिम्रो तिलमिलाएको दिमागमा चाँडो बिहे गरिदिए सुरक्षित हुन्थिन् भन्ने एक मनमा खेल्छ । २० बर्षसम्म गर्न नपाउने कानुन बनेको छ । सुरक्षाको प्रत्याभुति होला की भनेर प्रहरी कार्यालय पुग्छौ, बलात्कारीसँग मिलापत्र गराएर पठाइन्छ । तिमीले पाउने न्यायमा खोट छ । लौ न हुर्काएर कानुनसम्मत नै सबै काम गरौं भन्छौ तर देखिरहेका छौ निर्मला पन्तको तस्बिर ।

ठूला–ठूला सपनाका बाढी आइरहेका छन् यहाँ । यति बेलै रेल चढेर दुनियाँ घुमेजस्तो लाग्छ । तर, दिमाग एउटै विषयमा घुमिरहेको हुन्छ स्कुल गएकी छोरी कतिबेला आउँछे ? कतै उसका अनुहार र शरीर भरी चक्कुका डाम त परेका छैनन् ? कतै पढाउने शिक्षकको मष्तिष्क घुमेर अवोधमाथि राक्षसी चेहरा हावी भएको त छैन ? ढुक्क कसरी हुने ? प्रश्नहरूले मथिङ्गलमा झटारो हानिरहन्छन् ।

मुलुकी ऐनले बलात्कारलाई जबरजस्ती करणी भनी अनेक हिसाबमा राम्रा व्याख्या गरेको छ । त्यसविरुद्धको कानुनका निम्ति पनि कठोर अभ्यासको पहल हुनसक्ने लेखेको छ । तर, सामाजिक घटनाक्रम र व्यवाहारिकताले कति पीडा खेपीरहेको छ ?

कानुनका व्याख्या शव्दमा सीमित छन्, बाध्यता र पीडाका खाडल दिन दिनै गहिरा हुन छाडेका छैनन् । कैलालीको घटनाले मिडिया तताउँदा मोरङको घटनाले विक्षिप्त बनाउँछ । चेतनाको कमीमात्र होइन, सुरक्षाको प्रत्याभुति हुन नसकेको शतप्रतिशतका उदाहरण सर्लाहीमा अर्को घटनाले देखाउँछ । यस्ता अनगिन्ती अपराधका शिलशिला चलिरहेका छन्, बलात्कारका कर्मले । करणीका मर्मले ।

विरोधमा उत्रिएका स्वर उसका कानले सुन्दैन, जब सुन्नेगरी सडकमा युवा, युवती र तेस्रोलिंगी निषेधक्षेत्रमा देखिन्छन् अनि फूलो परेको आँखाले देख्छ– अश्लीलता

बलात्कार एउटा कारुणिक अपराधमात्र होइन, यो अपराधभित्रको पनि राक्षसी अपराध हो । हिन्दू धर्मले राक्षसलाई जोगाएको उदाहरण कहीँ दिँदैन । बरु, धर्मग्रन्थमा दानवले बलात्कारको बाटो रोजेको कहीँ कतै पढ्न पाइएन, आधुनिक समाजको चित्र हरेक दिन बलात्कारको घटनाबाट कोरिइरहेको छ ।

हरेक दिन कति छोरी जन्मिन्छन् ? हरेक दिन तीन छोरी बलात्कारको शिकार बन्छिन् । उत्तरआधुनिक समाजको टुप्पोमा पुगेको राजनीतिका प्यादाहरूलाई यसको मर्म थाहा हुँदैन ।

जसले मुलुकका कानुन, नीति र विधिको निरन्तर बलात्कार गरेर आफ्ना धेय पुरा गर्न भ्रष्टाचारको बाटो अख्तियार गरिरहेको छ, निश्चय नै उसलाई गरिबको छोरीले बाँच्नुपरेको पटक–पटकको मृत्युको कथा पीडादायी लाग्दैन । त्यसका विरोधमा उत्रिएका स्वर उसका कानले सुन्दैन, जब सुन्नेगरी सडकमा युवा, युवती र तेस्रोलिंगी निषेधक्षेत्रमा देखिन्छन् अनि फूलो परेको आँखाले देख्छ– अश्लीलता । यो अश्लीलता पूर्वमाओवादी रामनारायण विडारीले देखेछन् । तिनीहरू देशद्रोही अथवा देशविरोधी नै भनिदिए ।

विडारी कानुनको कर्मसँग जोडिएका तर प्रचण्डका अनेक विरोधाभाष निर्णयका साक्षीमात्र होइनन् ‘प्याधा’ पनि हुन् । पटक–पटक सांसदमा नियुक्ति हुनुको वफादारिता प्रचण्डलाई पर्नसक्ने ‘डबल’ चेक रोकेर देखाउँछन् । त्यसैले पहिला लाजिम्पाटतिर देखिने रातो कारमा उनी अचेल खुमलटारको आँगनमा ‘प्रचण्ड भजन’ गाइरहेका भेटिन्छन् ।

यीनलाई बलात्कारको मर्म, बलात्कारको मृत्यु एक श्वासमा गरिएको हत्या भन्दा कयन ठूलो पीडा हो भन्ने अनुभुत त भएको छ ? अन्ततः यी वकिल हुन् । यीनि न्यायका लागि गरिएको कठोर प्रदर्शनमा अश्लिलता देख्छन् । अपराधीलाई सजाय कस्तो दिने भन्ने निक्र्यौलमा पुग्न नसक्ने राजनीतिमा श्लीलता देख्छन् । यस्ता विज्ञहरूको प्रवेशले नै सार्वभौम संसद, कानुन निर्माणको थलो आफैं प्रताडीत हुन्छ कि हुँदैन ? यसको उत्तर दिने जिम्मा पाठकलाई नै छाड्छु ।

यस्ता विवादीत प्रकरणमा उनको अग्रसरता सुशीला कार्की प्रकरणदेखि देशमा न्यायका लागि हुने गरेका आन्दोलनको सकारात्मक टिप्पणीभन्दा नकारात्मक बयानबाजीमा देखिएकै छन् । ताजा प्रकरण जसलाई उनले संसदमा उठाए त्यसबारे एउटा प्रश्न छाड्नपर्छ ।

विडारी जी– तपाई जुन धाराको पानी खाएर संसदमा ‘स्ट्रेस राखेर’, मुख फुलाएर गर्जिनु भएको छ, त्यहि धाराको पानी खाएकी सावित्री सुवेदीले सडकमा पेटीकोट आन्दोलन गरिन् । यदि सावित्री विदेशी शक्तिको आडमा चलेकी नारी हुन् भने तपाईले खाएको धाराको पानी शुद्ध छैन ।

उनले लामो समय त्यहि पार्टीको कार्यकर्ता, नेता भएर जीवनको यौवन विताएकी थिइन् । वकिल हुनुहुन्छ, हेक्का राखेर कुनै पनि अपराधविरुद्धको अभियानबारे टिप्पणी गर्ने ठेक्का लिनुहोला । हैन भने नेपालका प्रत्येक छोरीहरूको अनुहार हेरेर आफैंसँग प्रश्न गर्नु, के सरकारले यति नगरे सुन्थ्यो ? सावित्रीका अन्य अभियानबारे तपाईले कहिले सदनमा कुरा उठाउनुभयो ? बलात्कारविरुद्धको कानुनका लागि उनका कस्ता प्रकारका आन्दोलन थिए ?

लौरी एन्डरसनले त्यसै भनेकी होइनन्– म सुत्न चहान्छु । कोमा सुन्दर हुनसक्छ । अथवा त्यो भन्दा दर्दनाक कोमा । जे होस् । दिमाग जिउँदो रहन्छ । म दिमागमा आगो बोकेर बस्छु । के तिनीहरूले मेरो टाउकोमा बलात्कार गर्नेछन् ?

यति भन्न सक्नुपर्छ– बलात्कारविरुद्धका हरेक आन्दोलन श्लील हुन् । यौन शोषविरुद्ध दक्षिण भारतमा एक अभिनेत्रीले नांगिएर प्रतिकात्मक आन्दोलन गरिन् । हरेक आन्दोलन र विरोधका प्रतिकात्मक सवाल हुन्छन् ।

अनेक पटक उठाएका आवाजमा सम्बन्धित निकायको उत्तर नभेटेपछि आन्दोलनको एउटा प्रकृति बन्छ । प्रजातान्त्रिक आन्दोलनको, आवाजको दमन भएका कारणले नै ०५२ सालमा हिंसात्मक आन्दोलनको बाटोमा जसरी माओवादी लाग्यो, त्यसलाई सुन्नका लागि राज्य गम्भिर बन्नुपरेको थियो त्यसरी नै यो प्रतिकात्मक सामाजिक आन्दोलन भन्ने सुझबुझपूर्ण तर्क गर्नुपर्छ । अब यस्तो हुन नदिन के गर्ने ? यसमा राजनीतिज्ञको ध्यान जानुपर्छ नकी बिरोधमा ।

संकुचितकता भित्रको संशय
साँझपख, विहान वा दिउँसो एक्लै छोरीलाई बाहिर पठाउनका लागि अभिभावक सशंकित हुनुलाई उसको संकुचित मानसिकताका रुपमा अपव्याख्या पनि हुन्छन् । यो समाजको चित्र र चरित्र थाहा भएकै कारणले अभिभावक बाध्य भएका थिए ।

पढ्न हिँडेकी एउटी किशोरीलाई ‘सोफोकेशन’मा राखेर निरन्तर हवसलाई पुरा गर्दा तिनका मनमा अपराधको सीमा कहाँसम्म थियो होला ? त्यसपछि हत्या ! यो निर्मला पन्तको मात्र कथा होइन । हरेक छोरीहरूलाई त्यस ठाउँमा उभ्याएर हेरौं र सोधौं– बलात्कारीलाई फाँसी दे भन्दै माइतिघरमा उत्रिने एउटी नारी अश्लील छिन् ? उसलाई पुरुष प्रहरीले लछारेर भ्यानमा कोच्ने श्लील सरकार हो ?

यदि बलात्कार न्युनिकरणका लागि, सुरक्षाको प्रत्याभुतिको मागमा सरकार विदेशी परिचालित देख्छ भने तिम्रो स्वदेशी बलात्कार र अपराधलाई क्षमा गर्न सकिँदैन । बरु, छोरीको भ्रुणहत्या गरिन्छ । ए छोरीको आशा राख्ने आमाबाबु अपिल छ, यो देशमा छोरीको सुरक्षा छैन ।  लिंग पहिचान गर र छोरी देख्यौ भने बलात्कारपछिको संगीन हत्या हुने समाजमा हुर्काउनुको साटो उसलाई धर्तीमा पाइला राख्न नदेऊ । उसको जन्मसँगै पैतालामा टाउको राख्ने तिम्रो संस्कृतिको पनि त्यहिँ हत्या गर जहाँ आफ्ना चाहना र अपेक्षाका फूलबारी ध्वस्त हुनेछन् ।

लौरी एन्डरसनले त्यसै भनेकी होइनन्– म सुत्न चहान्छु । कोमा सुन्दर हुनसक्छ । अथवा त्यो भन्दा दर्दनाक कोमा । जे होस् । दिमाग जिउँदो रहन्छ । म दिमागमा आगो बोकेर बस्छु । के तिनीहरूले मेरो टाउकोमा बलात्कार गर्नेछन् ?