न्युजिल्याण्ड । न्युजिल्याण्ड सरकारकी महिला मन्त्री आफ्नो पहिलो सन्तान जन्माउनका लागि आफै साइकल चलाएर अस्पताल पुगेकी छन् । द ग्रिन पार्टीकी जुली जेन्टर न्युजिल्याण्डकी महिला मन्त्री हुन् ।
उनी गर्भवती भएको ४२ हप्ता अर्थात ९ महिना भयो । कारमा बस्नका लागि चाहिने जति स्पेस नभएकाले आफूले साइकल चलाएरै अस्पताल जाने निर्णय गरेको मन्त्री जेन्टरले बताएकी छन् ।
उनी स्थानीय समय अनुसार आइतबार बिहान साइकल चलाएर अस्पताल गएकी हुन् । मन्त्री जेन्टरले प्रेमीसँगै साइकलमा जाँदै गर्दाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।
न्युजिल्याण्डका मन्त्रीहरु पछिल्लो समय विश्वभरका आदर्श पात्र बनेका छन् । गएको जुनमा प्रधानमन्त्री ज्यासिन्डाले आफ्नो पहिलो सन्तान जन्माएकी थिइन् ।
उनी सत्तामै रहँदा सन्तान जन्माउने विश्वको दोस्रो नेता हुन् । उनी ६ हप्ता सुत्केरी बिदा बसेर काममा फर्किएकी छन् ।
३८ वर्षकी जेन्टरले अब आफ्नो पहिलो सन्तान जन्माउँदै छिन् । उनी देशको सहायक यातायात मन्त्री पनि हुन् । उनले साइक्लिङ्गको पक्षमा वकालत पनि गर्दै आएकी छन् । एजेन्सी















प्रतिक्रिया