काठमाडौं, ५ भदौ । पूर्वराजदूत केशवराज झाको हत्या अभियोगमा ३ जनालाई पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ । प्रहरीले झाको हत्या भएको ठहर गर्दै घरका सुरक्षागार्ड सानु तामाङसहित अन्य दुई सहयोगीलाई नियन्त्रणमा लिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
फ्रान्सका लागि पूर्व राजदूत झा सोमबार बिहान बबरमहलस्थित आफ्नै घरको ओछ्यानमा मृत फेला परेका थिए । उनको टाउको र घाँटीमा चोट लागेको, हत्यामा घरकै भान्साको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि सुरक्षा गार्ड तामाङ र झाको घरमा मालीका रुपमा काम गर्ने अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
८० वर्षीय झाको हत्या रातको १ देखि २ बजेका हाराहारीमा भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । श्रीमान्–श्रीमती फरक–फरक कोठामा सुत्ने गरेकाले बिहान अबेरसम्म झा नउठेपछि झाकी श्रीमती ज्ञानुले सुरक्षागार्ड तामाङ र मालीको सहयोगमा ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेको बताइएको छ । झा सुत्ने कोठाको झ्यालको जाली च्यातिएको पाइएकाले हत्या नियोजित रुपमा भएको प्रहरीको ठहर छ ।
उनका छोरा किरणराज र बुहारी आयरल्यान्ड बस्दै आएका छन् । उनीहरू गत शनिबार मात्रै त्यता गएको पारिवारिक स्रोतले जनाएको छ । छोरी राजश्री संयुक्त राष्ट्रसंघमा कार्यरत रहेकाले उनी पनि स्वदेशमा छैनन् ।
३० वर्षसम्म परराष्ट्र सेवामा विताउनुभएका स्वर्गीय झा परराष्ट्र सेवाबाटै २०४९ देखि २०५४ सम्म फ्रान्सका लागि राजदूत बनेका थिए । राजदूत नियुक्त हुनुअघि उनी परराष्ट्रमा शिष्टाचार महापाल र त्यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगमा कार्यरत थिए ।
झा राजदूत रहेका बेला नेपाल युनेस्कोको बोर्डमा नेपाल निर्वाचित भएको थियो भने उनी फ्रान्समै रहेका बेला नेपालको तर्फबाट विभिन्न समयमा उच्चस्तरीय भ्रमण भएका थिए ।
तत्कालीन राजा वीरेन्द्र, पूर्वप्रधानमन्त्रीद्वय मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, तत्कालीन उप–प्रधानमन्त्री माधवकुमार नेपाललगायतले फ्रान्सको भ्रमण गरेका थिए ।
झाको कार्यकालमा यूरापेली मुलुकमा नेपालका उच्च र विशिष्ट अधिकारीहरूको भ्रमणले नेपालको सम्बन्ध अन्तर्राष्ट्रिय तहमा फराकिलो बन्ने अवसर भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।















प्रतिक्रिया