काठमाडौं, ५ भदौ । अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गरेको थियो ।
धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘कृषकको खेतबाट १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा काउली बेचिएको पाइयो,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलले भने, ‘त्यही तरकारी कालिमाटी बजारमा आइपुगेपछि १ सय १० रुपैयाँ प्रतिकिलोसम्म बेचिएको पाइएको छ ।’
किसानको खेतदेखि तरकारी बजारसम्म आइपुग्दा तरकारीको मूल्य चारगुणासम्म बढेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।
‘तरकारी व्यापारका बिचौलियाको धेरैवटा तह पाइएको छ,’ उनले भने, ‘यसले गर्दा तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने तथा बिचौलियाले मात्र अनुचित लाभ कमाउने अवस्था देखिएको छ ।’
विगत डेढ दशकदेखि कालिमाटीलगायत तरकारी बजारको अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा अनेक बेथिति देखिने पनि गरेका छन् । तर, तरकारी उत्पादक किसान र उपभोक्ता ठगिने अवस्थाको अन्त्य अझै हुन सकेको छैन ।















प्रतिक्रिया