काठमाडौं, ४ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आफूलाई आक्रामक बनाउने प्रयास गरेपनि संगठन भने भताभुङ्ग बनाएको आरोप खेपेको छ ।
सभापति शेरबहादुर देउवाले कांग्रेसका विभाग र भातृसंस्थाहरूलाई अपडेट गराउन नसकेको भनेर आलोचना भएको छ । लामो समयदेखि विभागहरू रिक्त छन् ।
विभागहरू गठन गर्ने सहमति भएपनि देउवाले किन हो गठन गर्न सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई क्रियाशील बनाउन माग गर्दै आएका छन् । कांग्रेसका प्रवक्ता शर्माले कांग्रेसले क्रमशः गठन हुन नसकेका विभागहरूलाई छिट्टै पूर्णता दिने बताएका छन् ।
कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्ने भए पनि देउवाले त्यो काम गर्न सकेका छैनन् ।
१४ औं महाधिवेशनबाट देउवा सभापति चुनिएको साढे दुई वर्ष भइसक्दा पनि ४२ वटा विभाग रिक्त छन् । कांग्रेसलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय हुँदा सरकार विरुद्धको आन्दोलन पनि कमजोर भएको आरोप लाग्ने गरेको छ ।
विभागले पूर्णता नपाउँदा कांग्रेसका केन्द्रीय सदस्यहरू समेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ ।
विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । मनोनयन नहुँदा एकातिर नेता तथा कार्यकर्ता दायित्वविहीन बनेका र अर्कोतिर संगठन तदर्थवादमा अघि बढेको नेताहरूको आरोप छ ।
हुन त नेविसंघकै महाधिवेशन गराउन नसकेको भनेर सभापति देउवाको पौडेल समूहले आलोचना गर्दै आएको छ । अधिवेशन भएका भातृसंगठनहरू सबैमा देउवा समूह पराजित भए पछि विभाग गठन र महाधिवेशनमा संस्थापनले रुचि नदेखाएको आरोप छ ।
तत्कालीन सभापति सुशील कोइरालाले पनि लामो समयसम्म विभाग गठन नगरेको भन्दै देउवा पनि पन्छिन थालेका छन् ।
सुशील कोइरालाले पनि आफ्नो कार्यकालको अन्त्यतिर मात्रै विभाग गठन गरेका थिए । जसबाट असन्तुष्ट देउवाले आफ्नो पक्षका नेताहरूलाई संयोजकबाट राजीनामा गर्न लगाएका थिए । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानसहित केहीबाहेक विभाग र समिति त्यतिबेला पनि निष्क्रिय रहे ।
कांग्रेसका महत्त्वपूर्ण मानिने विभागले ८ वर्षदेखि राम्ररी काम गरेका छैनन् । समयमै विभाग गठन गर्न नसकेको भन्दै देउवाले कोइरालालाई निर्णय क्षमता नभएको नेताका रूपमा टिप्पणी गरेका थिए । अहिले त्यही टिप्पणी उनीतिर फर्किएको छ ।
देउवाले विभाग र समिति गठन गर्न नसक्नुमा पार्टीभित्रको भागबण्डा अर्को कारण हो । सभापति बन्नुअघि देउवाले नै पार्टीभित्र ६० र ४० प्रतिशतको भागबण्डालाई संस्थागत गराएका थिए ।
अहिले भागबन्डाको त्यही अनुपातले उनलाई समस्या परेको छ । अहिले कांग्रेस पार्टी देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीचको भागबण्डामा सञ्चालित छ ।















प्रतिक्रिया