काठमाडौं, ४ भदौ । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ ।
ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सञ्चारमा ८८ लाख
राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीहरूको निवासमा जोडिएको टेलिफोन र इन्टरनेटको एक वर्षको बिल ८८ लाख उठेको भवन सम्भार डिभिजन कार्यालयका उपसचिव रामकृष्ण पन्थीले बताए ।
घरभाडामा ८१ लाख
शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा क्वार्टर नपुगेपछि केही मन्त्री बाहिर भाडामा बसेका थिए । उनीहरूको घरभाडामा ८१ लाख खर्च भएको पन्थीले बताए । भाडामा बस्ने मन्त्रीलाई सरकारले प्रतिमहिना ४० हजारका दरले भाडा शुल्क दिने गरेको छ ।
झण्डै दुई करोडको फर्निचर
गत आर्थिक वर्ष राष्ट्रपतिदेखि मन्त्रीसम्मको निवासमा एक करोड ९० लाखको फर्निचर किनिएको छ । फर्निचर शीर्षकमा भएको खर्चमध्ये सबैभन्दा धेरै सोफा र कुर्सीमा भएको छ ।
मसलन्द र पर्दा–कार्पेटमा २ करोड खर्च
विशिष्टहरूको कार्यालयसम्बन्धी खर्चमा २ करोड खर्च भएको छ । यो खर्च किचेन, मसलन्द, पर्दा र कार्पेटमा भएको हो ।
मर्मतमा १ करोड १० लाख खर्च
सामान्य मर्मतमा ६० लाख खर्च भएको छ । यसमा धारा, मेसिनरी औजार मर्मत खर्चमा गरी एक करोड १० लाख खर्च भएको छ । एसी, इन्डक्सन चुलो, ल्यापटपलगायत सबैको मर्मत खर्च यसैमा समेटिएको छ ।















प्रतिक्रिया