काठमाडौं, ४ भदौ । गण्डकी प्रदेशले केन्द्रीय सचिवालयबाटै प्रदेश र जिल्लाको नेतृत्व टुंगो लाग्ने गरी पूर्वएमाले र पूर्वमाओवादीले अध्यक्ष र सचिवको छुट्टाछुट्टै नामसहितको सूची बुझाएको छ ।
प्रदेश र जिल्लामा संख्यात्मक हिस्सेदारी टुंगो लगाएर एकीकरण कार्यदलले सहमतिमै दुवैतर्फबाट जिल्ला अध्यक्ष र सचिवका दाबेदारको नाम आइतबार महासचिव पौडेललाई बुझाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘संख्या टुंग्याएर जिल्ला नेतृत्वका लागि तत्कालीन दुवै पार्टीका तर्फबाट सूची महासचिवलाई बुझाएका छौँ,’ कार्यदल सदस्य किरण गुरुङले भने, ‘इन्चार्ज र सहइन्चार्ज नतोकिएका कारण माथिबाटै मिलाएर टुंग्याउन सजिलो हुने भएकाले सूची बुझाएका हौँ ।’
प्रदेशका ११ मध्ये गोरखाबाहेकका जिल्लामा पूर्वएमालेको संख्यात्मक हिस्सेदारी बढी रहने गरी कार्यदलले प्रतिवेदन बुझाएको छ । गुरुङले जिल्लाहरूमा पूर्वपार्टीका तर्फबाट कम्तीमा ४३ प्रतिशतसम्मको हिस्सेदारी रहने गरी संख्या टुंग्याएको बताए ।
पूर्वएमालेले गोरखामा प्रेम गुरुङ, कास्कीमा दामोदर बैरागी, लमजुङमा कृष्णराज अधिकारी, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, बाग्लुङमा कृष्ण पाठक, मुस्ताङमा रमेश भट्टचन र मनाङमा त्रिपल गुरुङको एकल नाम अध्यक्षका लागि सिफारिस गरेको छ ।
त्यस्तै, तनहुँमा भगवती न्यौपाने, विष्णुभक्त सिग्देल, रामचन्द्र तिम्सेना, पर्वतमा भक्त कुँवर, मेघनाथ सुवेदी, नवलपुरमा दीपक अधिकारी, जीवन श्रेष्ठ, स्याङ्जामा रामचन्द्र भट्टराई, कृष्ण खाण र उदय श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस गरिएको छ । १ सय ८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादीबाट ८५ जना रहने समझदारी भइसकेको छ ।















प्रतिक्रिया