
काठमाडौं, ३ भदौ । सावित्री सुवेदी– शनिबार अचानक माइतिघर मण्डलामा कालो पेटीकोटमा सरकारविरुद्धको प्रदर्शनका क्रममा उत्रिएको नाम हो । देशका विभिन्न भागमा भइरहेका बलात्कारविरुद्धको अभियानमा सक्रिय रहेकी सावित्रीले बलात्कारीलाई फाँसीको सजाय मागिन् ।
उनीसँगै कालोपेटीकोट लगाएर अन्य महिला पनि आन्दोलनमा सहभागी भए । तर प्रहरीले त्यो आन्दोलन लामो समय टिक्न दिएन ।
उनीहरूको गिरफ्तारी गर्यो र केही कागज गराएर छाडेको छ । ७ जना महिला गिरफ्तारीमा परे । सो क्रममा लछारपछार पारियो, उनीहरूको शरीरमा चोट र घाउ पनि भए । यद्यपि, बलात्कारविरुद्धको अभियान नछाड्ने बताउँछिन्, सावित्री ।
प्रहरीले अब कुनै पनि प्रकारका आन्दोलन गर्न नपाउने कागज गराएर सावित्रीलगायत सातै जनालाई छाडेको छ । तर, उनी आन्दोलन अझ सशक्त बनाउने तयारीमा छिन् ।
सावित्री डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनका पक्षमा पनि उभिने गरेकी थिइन् । तर, केसीकी अनुयायी भएर होइन, समर्थक भएर ।
‘राज्यले न्यायीक र सामाजिक विषयलाई ध्यान नदिए पछि केसी आन्दोलनको समर्थनमा देखा परेकी हुँ, उहाँसँग अन्य लाइन मिल्दैन’, उनले राजनीतिक संलग्नताबारे पनि खुल्दै भनेकी छन्,‘म पूर्वमाओवादी केन्द्रीय सदस्य हुँ । अहिले कुनै पनि राजनीतिक दलमा आवद्ध छैन ।’
बलात्कारीलाई मिलापत्र गराउने कामदेखि उनी दिक्क छिन् । बलात्कारीलाई कारबाहीको माग गर्दै सरकारविरुद्ध प्लेकार्ड, धर्ना र शान्तिपूर्ण अन्य प्रकारका आन्दोलन, र्याली गर्दा ध्यान नदिएकै कारण पेटीकोट आन्दोलन गर्नुपरेको उनले बताएकी छन् ।
‘अहिले त झन् अति भएको छ । बलात्कारजस्तो जघन्य अपराधलाई वडा वा स्थानीय तहले समेत मिलापत्र गराउन दबाब दिने गरेका छन् । सामुहिक बलात्कारका घटनामा न्युनिकरण हुन सकेको छैन । राज्य कहाँ छ ?’, उनले भनेकी छन्,‘यसैको उत्तर खोज्न आन्दोलनको स्वरुप यस्तो बनाउन परेको थियो ।’















प्रतिक्रिया