
काठमाडौँ, २ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको शनिबार साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभयो ।
समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी छन् ।
नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नुभएको छ । उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । एशियाडमा ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी छन् । ४० खेलका ४ सय २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
इण्डोनेसियाका सर्वाधिक ९ सय ५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८ सय ७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्याण्डले ८ सय १६, दक्षिण कोरियाले ८ सय ०७, चाइनिज ताइपेइका ५ सय ५८ र भारतका ५ सय ७२ खेलाडी सहभागी छन् ।

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी छन् । जसमा १ सय ८५ खेलाडी (पुरुष १ सय २९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् ।
नेपालले आर्चरी, एथ्लेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फूटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदैछ । दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ । –रासस















प्रतिक्रिया