
काठमाडौं, २ भदौ । अनेरास्ववियु र अखिल क्रान्तिकारी एकीकरण भएपछिको नाम ‘अनेरास्ववियू’ रहने भएको छ । दुवै विद्यार्थी संगठनले एकता गर्न बनाएको कार्यदलको शुक्रबारको बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, बैठकले यसअघि तयार भएको विधान, राजनीतिक तथा शैक्षिक प्रतिवेदनलाई स्वीकार गरेको छ । एकतापछि संगठनको केन्द्रीय समितिको संख्या ४९९ रहनेछ, जसमा पूर्व अनेरास्ववियुबाट २६० र पूर्व अखिल क्रान्तिकारीबाट २३९ जना रहनेछन् ।
एकतापछिको संगठनको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन बाँकी रहेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेकपाका अध्यक्षद्वय बाहेक सबैले एक व्यक्ति एक पद पाउने छन् भने मन्त्री तथा जनप्रतिनिधिले पार्टीको पदमा रहने छैनन् ।
स्रोतका अनुसार पूर्व एमाले निकटको अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रतिनिधि सभाकी सांसद भएकाले एकीकृत विद्यार्थी संगठनको नेतृत्व पूर्व माओवादी निकट क्रान्तिकारीले पाउने र तत्कालीन माओवादी निकटको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेकपाको केन्द्रीय सदस्य रहेकाले एकीकृत युवाको संगठन तत्कालीन एमालेले पाउने सम्भावना रहेको छ ।
युवा र विद्यार्थीको नेतृत्व बारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रधानमन्त्री केपी ओली र प्रचण्डलाई छाडिएको छ ।














प्रतिक्रिया