
कपिलवस्तु, १ भदौ । तीनदिनदेखि रिले अनशनमा बसेका कपिलवस्तुका उखु कृषकले शुक्रबार अनशन तोडेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले किसानहरुले पाउनुपर्ने अनुदानको रकम जसरी भए पनि दिलाउने आश्वासन दिएपछि अनशनरत कृषकहरुले अनशन तोड्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
आव ०७१÷७२ मा सरकारले कृषकलाई प्रोत्साहनको रुपमा चिनी मिलमा खसालेको उखुको प्रति क्वीन्टल २५ रुपैयाँको दरले अनुदान दिने घोषणा गरेको थियो । चिनी मिलकै ढिलासुस्तीका कारण पाँच वर्षअघि सरकारबाट पाउने अनुदानको रकम नपाएपछि आन्दोलनमा उत्रिएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले गुनासो गरे । सबै जिल्लाका कृषकहरुले समयमै अनुदानको रकम पाएपनि कपिलवस्तुका कृषकहरु हालसम्म पनि अनुदानको रकम नपाएको सान संघका अध्यक्ष चौधरीले बताए ।
कपिलवस्तुका ७ हजार उखु कृषकले २ करोड ५० लाख अनुदानको रकम चारवर्ष वित्दा पनि पाउन सकेका छैनन् –अध्यक्ष चौधरीले गुनासो गरे ।
इलाका प्रशासन अगाडि टेन्ट टाँगेर तीनदिनदेखि अनशनमा बसेका किसानलाई भेटेर प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेलले छिटै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । पोख्रेलले यस विषयमा गम्भीर भएकोे भन्दै कृषि मन्त्री लगायतलाई भेटी कृषकले पाउनुपर्ने अनुदानको रकम दिलाउने आश्वासन दिए ।












प्रतिक्रिया