३ कार्तिक २०८३, मंगलबार

राजश्व अनुसन्धानले चलायो अहिलेसम्मकै ठूलो मुद्धा

79.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ भदौ । राजश्व अनुसन्धान विभागले बिगो र जरिवानाको मागदाबीका आधारमा अहिलेसम्मकै ठूलो मुद्धा चलाएको छ । राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ । गुप्ताले श्रीमतीको नाममा कम्पनी खोलेर कारोबार गर्दै आएका थिए । हिमालय कार्गाेका संचालक गुप्तालाई गत महिना विभागले पक्राउ गरेको थियो ।

प्रधानमन्त्री कार्यालय मातहत ल्याएपछि विभागले ठूला राजश्व छली गर्ने कम्पनीमाथि अनुसन्धान गरी मुद्दा दायर गरिरहेको छ । विगतमा भत्सार ऐनअनुसार अनुसन्धान हुनेमा अहिले राजश्व अनुसन्धान नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही हुन थालेकाले प्रभावकारी हुन थालेको हो ।

नेपालगन्ज भन्सार कार्यालयबाट भएको पाउडर दूध तस्करीको अनुसन्धानका क्रममा गुप्तालाई विभागले पक्राउ गरेको थियो । पक्राउ गरी अनुसन्धान गर्दा उनले २ अर्ब भन्दा धेरै राजश्व छलेको खुल्न आएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

गुप्ता नक्कली कागजपत्रका आधारमा तस्करी गर्ने गिरोहका नाइके भएको मैनालीले बताए । प्रहरीले उनको कार्यालयका मेनेजर अशोक द्विवेद्वीलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ ।

गृप्ताको बैंक खातामा मात्र विभागले १५ करोड रुपैयाँ फेला पारेको छ । त्यस्तै सतंगुलमा करिब ८ रोपनी जग्गा छ । पछिल्लो दुई वर्षयता उनले राज्यलाई १ रुपैयाँ पनि कर तिरेका छैनन् । आर्थिक वर्ष २०७२/७३ मा जम्मा ५ हजार रुपैयाँ कर तिरेका थिए ।

उनले २० लाख भन्दा थोरै कारोबार गर्ने भनेर फर्म दर्ता गरेका थिए । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर समेत कारोबार गरेको अनुसन्धानमा खुलेको छ ।