
काठमाडौँ, ३१ साउन । सुन तस्करी र सनम शाक्य हत्याको संगठित अपराधका आरोपी ३० जनाको उच्च अदालत बिराटनगरमा सुनुवाइ चलिरहेको छ । हाजिरी जमानीमा छुटेका ठाकुरप्रसाद ढुंगाना सञ्चालक रहेको एबल टुर्स एण्ड ट्राभल्स तथा कान्तिपुर होलिडेजले दिएको निवेदन उपर समेत सुनवाईका लागि पेशी तोकिएको हो ।
मोरङ अदालतको थुनछेक आदेशले पूर्पक्षका लागि कारागारमा रहेका २९ जनाको निवेदनमा यसअघि नै कैफियत आदेश झिकाइएको थियो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेशले पूर्पक्षका लागि थुनामा रहेका पूर्व डिआईजी गोविन्दप्रसाद निरौला, निलम्बित एसएसपी दिवेश लोहनी र श्यामबहादुुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, सई बालकृष्ण सन्जेलको १७ नम्बर निवेदन उपर सुनवाइ चलिरहेको बताइएको छ ।
यस्तै सुन तस्कर भुजुङ गुरुङ, आरके भन्ने राजेन्द्रकुमार शाक्य र महाबिर गोल्यान समेतले निवेदन उपर सुनवाई हुन लागेको हो । ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्ड प्रकरणमा मुछिएर पूर्पक्षका लागि थुनामा रहेका एसएसपी दिवेश लोहनी र डिएसपी सञ्जयबहादुर राउतले उच्च अदालत बिराटनगरमा सुरुवातमै निवेदन दिएका थिए ।
लोहनी र राउतले आफूहरुलाई पूर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका हुन् । अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र प्रतिपक्ष पुनरावलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउँने व्यवस्था छ ।
उच्च अदालतका मुख्य न्यायाधी डा. कुलरत्न भुर्तेल र उमेशकुमार सिंहको इजलासमा बिहीबार पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङगे, राजन थापा, एली भन्ने लालबहादुर मगर, बालकृष्ण श्रेष्ठ, टेकराजमल्ल ठकुरी, प्रजित केसी, माधव भन्ने मदनप्रसाद घिमिरे, तुलाराम थारु, बिरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, बिष्णुबहादुर खड्का, अम्बरबहादुर थापा मगर र एवल नेपाल ट्राभल्स र कान्तिपुर होलिडेजको पेशी चढेको हो ।
यस्तै न्यायाधीश हरिप्रसाद भण्डारी र श्रृषिराम दवाडीको इजलासमा गोपालकुमार श्रेष्ठ, भुजुङ गुरुङ, दोराम खत्री, महाविरप्रसाद गोल्यान, आरके भन्ने राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, राजनकुमार, श्यामबहादुर खत्री, बालकृष्ण सन्जेल र मदन सिलवालको पेशी चढेको छ ।
उच्चका न्यायाधीशद्वय थीरबहादुर कार्की र जनक पाण्डेको इजलासमा सञ्जयबहादुर राउत, दिवेश लोहनी, गोविन्द्रप्रसाद निरौला, विकासराज खनाल र हेमन्त गौतमको पेशी तोकिएको अदालतका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।















प्रतिक्रिया