
काठमाडौं, ३१ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा धमाधम एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ । सातमध्ये बुधबारसम्म पाँचवटा प्रदेशको अन्तिम खाका तयार भइसकेको छ ।
गण्डकी, कर्णाली तथा प्रदेश ४, ५ र ७ मा कार्यदलले खाका तयार पारेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कार्यदलले प्रदेश र जिल्ला कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीले पाउने संख्यात्मक हिस्साको टुंगो पनि लगाएका छन् । संख्या टुंग्याएर जिल्ला नेतृत्वको सम्भावित नाम केन्द्रीय सचिवालयलाई बुझाउने अन्तिम तयारी गरेका छन् । भदौ पहिलो साताभित्र एकीकरण टुंगो लगाइसक्ने नेकपाको तयारी छ ।
प्रदेश १ को २ सय ७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २२ तथा पूर्वमाओवादीबाट ८५ जना रहने टुंगो लागेको छ । प्रदेशका १४ जिल्लामध्ये इलामको १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा पूर्वएमालेबाट ९४ र माओवादीबाट ५१ जना रहने टुंगो लागेको छ ।
त्यस्तै, मोरङको १ सय ८५ सदस्यीय कमिटीमा पूर्व एमालेबाट १ सय १० र पूर्वमाओवादीबाट ७५ जना रहने टुंगो लागेको छ । तेह्थुममा पनि संख्या टुंगो लागिसकेको कार्यदल सदस्य भीम आचार्यले बताए । तिनवटै जिल्लामा पूर्वएमालेको नेतृत्व रहनेछ । प्रदेश १ का १४ जिल्लामध्ये पूर्वमाओवादीले कम्तीमा ४ जिल्लामा नेतृत्व पाउनुपर्ने अडान राख्दै आएको छ ।
प्रदेश नम्बर २ का प्रदेश कमिटी र जिल्ला कमिटीमा ५०–५० प्रतिशतको भागवण्डा भएको छ । २ सय १५ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट १००–१०० जना रहनेगरी बाँकी पछि मनोनित गर्ने करिब–करिब समझदारी भइसकेको कार्यदल सदस्य प्रभु शाहले बताए ।
उनका अनुसार प्रदेशका ८ जिल्लामध्ये सबै जिल्लामा १५ जना रिक्त राखेर अहिलेलाई ७५–७५ रहनेगरी जिल्ला कमिटी बनाउने समझदारी जुटेको छ । ‘जिल्ला नेतृत्वको सवालमा एकातर्फको ईन्चार्ज र अर्कोतर्फबाट अध्यक्ष रहनेगरी केन्द्रीय सचिवालयले नै अन्तिम टुंगो लगाउनेछ, शाहले भने, ‘अब एकरदुई चरणको छलफलपछि केन्द्रीय सचिवालयलाई प्रतिवेदन बुझाउँछौं ।’














प्रतिक्रिया