काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा पुनः प्राधिकरणको अध्यक्ष हत्याउन भारतीय दूतावासको शरणमा पुगेका छन् ।
झालाई पुनः अध्यक्ष बनाउन एनसेल, स्मार्टसेल र यूटिएल पनि लागि परेका छन् । झालाई सरकारले हटाएपछि उनी पुनः अध्यक्ष बन्नका लागि यतिखेर भारतीय दूताबासदेखि नेकपाका नेताहरुका घर–घर धाउन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार केही दिन अघि मात्र उनले दूतावास एक उच्च अधिकारीसँग भेट गरेका थिए । सरकारलाई दबाब दिएर अध्यक्ष बन्नका लागि झाले दूताबासमार्फत चलखेल गरेको प्राधिकरण स्रोतले बतायो ।
केपी ओली नेतृत्वको सरकारले असार २० गते शेरबहादुर देउवा सरकारले २०७४ भदौ १४ देखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका झाले पछि निवेदन फिर्ता लिएका थिए ।
दूरसञ्चारको अध्यक्ष भएको बेलामा ६५ अर्व रावश्व तिर्न आनाकानी गर्दै आएको एनसेललाई फाइदा पुग्ने गरी काम गरेका झालाई पुनः अध्यक्ष बनाउन एनसेल सक्रिय भएर लागेको हो । तर, कानुनतः झालाई पुनः नियुक्ति गर्न मिल्दैन । देउवा नेतृत्वको सरकारले पनि झालाई पुनः दूरसञ्चारको अध्यक्ष बनाएको हुँदा उनलाई अहिले फेरि नियुक्ति गर्न मिल्दैन ।
यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका राजकिशोर यादवले झालाई दूरसञ्चारको अध्यक्ष बनाएका थिए । यदि झालाई फेरि पनि अध्यक्ष बनाउने हो भने सार्वजनिक रुपमा सूचना जारी गरेर प्रतिस्पर्धाबाट लैजानु पर्ने हुन्छ । तर, यो प्रक्रिया झण्झटिलो भएपछि विना प्रतिस्पर्धा झालाई कसरी अध्यक्ष बनाउन सकिन्छ भनेर एनसेल, यूटिएल र स्मार्टसेलले भित्रभित्रै चलखेल सुरु गरेका छन् ।














प्रतिक्रिया