लण्डन, ३० साउन । रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिनाको पहिलो प्रतिस्पर्धात्मक खेल बुधबार खेल्दैछ । युइएफए सुपर कपमा रियल मड्रिडले छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ।
इस्टोनियामा राति हुने खेल रोनाल्डो बिनाको पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ यो सिजनको । रोनाल्डो ९ वर्षको रियल मड्रिड बसाइपछि यहि सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका छन् ।
रियल मड्रिडका नयाँ प्रशिक्षक जुलियन लोपेतेगीका लागि पनि यो खेल पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । जिनेदिन जिदानले छोडेपछि लोपेतेगी रियलको जिम्मेवारी सम्हाल्न आएका हुन् ।
रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग ला लिगामा भएका पछिल्लो १० भेटमा मात्रै एक खेलमा जित निकालेको छ । तर युरोपियन च्याम्पियन रियलले डिएगो सिमोनको टिमलाई च्याम्पियन्स लिगमा सन् २०१४, २०१५, २०१६ र २०१७ मा हराएको छ ।
बुधबारको खेलमा सिमोनमाथि टचलाइन प्रतिबन्ध छ । युरोपा लिगको सेमिफाइनलमा आर्सनलसँगको खेलको क्रममा सिमोनलाई रेफ्रीले बाहिर पठाएका थिए र चार खेलको प्रतिबन्ध लागेको थियो ।
युइएफए सुपर कपको यो ४३ औँ संस्करण हो । यसअघिका ४२ संस्करणमा २३ पटक च्याम्पियन्स लिग विजेताले सुपर कपको पनि उपाधि जितेको छ । सुपर कप च्याम्पियन्स लिग तथा युरोपा कपको विजेताबिच हुने गर्छ । एजेन्सी















प्रतिक्रिया