२१ कार्तिक २०८३, शनिबार

सल्यान अस्पताललाई ५० शैय्या बनाउन डेढ करोडको भवन निर्माण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, २९ साउन । सल्यानमा सुविधा सम्पन्न अस्पतालका लागि पूर्वाधार तयार गर्न नयाँ अस्पताल भवन निर्माण कार्य सुरु भएको छ । करिब डेढ करोडको लागतमा जिल्ला अस्पताल सल्यानमा नयाँ भवन निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको सदरमुकाम खलंगामा रहेको अस्पताललाई शारदा नगरपालिका सल्यानले १ करोड ४१ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्ने गरी काम सुरु गरेको जनाएको छ ।

जिल्लाको एक मात्र सरकारी अस्पताल लाई ५० शैय्याको पुर्‍याउने र सुविधायुक्त अस्पताल बनाउने उद्देश्यका साथ शारदा नगरपालिकाले नयाँ भवन निर्माण कार्य सुरु गरिएको नगर स्वास्थ्य प्रमुख रविन बिस्टले बताए । ‘अस्पतालको पूर्वाधार निर्माण लगायतको खर्चका लागि अघिल्लो आर्थिक वर्षको बजेटमा २ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको थियो’,उनले भने, ‘गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिन यस वर्ष पनि रकम छुट्याएर कामलाई निरन्तरता दिइने छ ।’

शारदा नगरपालिका भित्रका सेवाग्राहीलाई मात्रै नभई जिल्लाका विभिन्न स्थानबाट आउने बिरामीहरुलाई जिल्लाभित्रै सम्पूर्ण सेवा दिनुपर्ने आवश्यकता महसुस गरि अस्पताललाई सुविधा सम्पन्न बनाउन लागिपरेको नगर प्रमुख सुरेश अधिकारीले बताए ।

‘यहाँका बिरामीलाई सामान्य बाहेक केही जटिल समस्या भएमा उपचारका लागि छिमेकी जिल्ला दाङ, कोहलपुर, नेपालगन्ज लगायतका ठाउँमा जानुपर्छ’, उनले भने, ‘यस समस्यालाई समाधान गर्न जिल्लामै सुविधा सम्पन्न अस्पताल बनाउन सबै पक्षबाट सहयोगको आवश्यकता पर्छ ।’

नगर प्रमुख अधिकारीले विरामीलाई जिल्लाभित्र नै सेवा दिन अस्पताललाई सुविधा सम्पन्न बनाउन सबै पक्षको सहयोग र सहकार्यको आवश्यकता रहेको बताए । उनले भने, ‘यो जिल्लाको अस्पताल हो, अहिले पनि पूर्वाधारको अभावमा १५ शैय्यामै सिमित छ, यसको स्तर वृद्धिका लागि हामीले आवश्यक कार्यको सुरुवात मात्रै गरेका छौं ।’

अस्पतालमा आवश्यक पर्ने सिआर प्रविधी, बढी क्षमताको जेनेरेटर, टिआरआर टेस्ट मेसिन, रक्तदानका लागि आवश्यक मेसिन शारदा नगरपालिकाले खरिद समेत गरी अस्पताललाई हस्तारण गरको छ । शारदा नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुका लागि अस्पतालमा सबै सुविधा निःशुुल्क गर्ने निर्णय समेत अघिल्लो आर्थिक वर्षदेखि गरेको प्रवक्ता दिपक हमालले बताए ।