लण्डन, २१ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन म्यानचेस्टर सिटीले कम्युनिटी सिल्ड फुटबलको उपाधि पनि जितेको छ ।
आइबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।
सिटीको जितमा दुवै गोल सर्जियो अग्युरोले गरेका हुन् । वेम्बलीमा भएको खेलमा अग्युरोले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेका हुन् । १३ औँ मिनेटमा अग्युरोको गोलबाट सिटीले अग्रता लियो ।
५८ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेर जित निश्चित गरेका हुन् । अग्युरोले १३ औँ मिनेटमा गरेको गोल म्यानचेस्टर सिटीबाट उनको २०० औँ गोल थियो ।
माउसिजिओ सारीको प्रशिक्षणमा रहेको चेल्सीले खेलमा अट्याकिङ्ग उपस्थिति देखाउन सकेन । उसले मात्रै एकपटक पोस्ट प्रहार गर्न सफल भयो ।
म्यानचेस्टर सिटीले सन् २०१२ पछि पहिलोपटक कम्युनिटी सिल्डको उपाधि जितेको हो । उसले सन् २०१२ मा चेल्सीलाई ३–२ ले हराएर उपाधि जितेको थियो ।
चेल्सीले पाँचपटक खेलेर पनि कम्युनिटी सिल्डको उपाधि जित्न सकेको छैन । सन् २०१०, २०१२, २०१५, २०१७ र २०१८ गरी पाँचपटक चेल्सी पराजित भएको हो ।
यो न्युक्यासलको खराब कीर्तिमानसँग बराबरी हो । न्युक्यासलले पनि सन् १९३२, १९५१, १९५२, १९५५ र १९९६ गरी पाँचपटक उपाधि जित्न सकेको थिएन ।
पछिल्लो पाँच वर्षमा प्रिमियर लिग च्याम्पियनले कम्युनिटी सिल्डको उपाधि जितेको यो पहिलो पटक हो । सन् २०१३ मा म्याचेस्टर युनाइटेडले विगानलाई २–० ले हराएर उपाधि जितेको थियो । एजेन्सी















प्रतिक्रिया