
– मोहन बस्याल
प्रविधिमा आएको परिवर्तन र अनुरागी चलचित्रकर्मीको सहभागिताले नेपाली चलचित्रको स्तर माथि उठेको छ । गाउँ गाउँमा खुलेको नृत्य तालिम केन्द्र, टेलिभिजन कार्यक्रम र चलचित्र अध्ययन गर्न पाउने ब्यवस्थाले यसमा थप सहयोग गरेको छ । चलचित्र उद्योगमा थुप्रिएका सुरा सुन्दरी तथा चर्चाका प्यासीहरुको भीडले दर्शकको नाक खुम्चाउन पनि उत्तिकै भूमिका खेलेको छ । चलचित्र प्रयोग अनुसार धेरै कुरा हो । तर यसलाई अधिकांश त सस्कृति संरक्षणको एक महत्वपूर्ण माध्यमका रुपमा लिने गरिएको छ । के नेपाली चलचित्रले नेपाली कला संस्कृतिको संरक्षण गरि रहेको छ त ? अयोग्य मानिसको सहभागिताका कारण नेपाली चलचित्रले नेपाली कला संस्कृतिकै मजाक त उडाई रहेको छैन ? आज यो बिषयमा बहस गर्दैछौ । नेपाली चलचित्रको सुधारका लागि के के गर्न सकिन्छ ? यसका बिषयमा आफ्ना बिचार राख्दैछु ।
आफ्नो टिकट काटेर विदेशमा हुने कार्यक्रममा जान सक्छ, ऊ अवार्डको दावेदार हुन्छ । जान नसक्ने लिष्टबाट बाहिर हुन्छ । के यस्ता अवार्ड कार्यक्रमले नेपाली चलचित्रको स्तर उकास्न र छवि उचो बनाउन सहयोग गर्ला ?
अवार्डले छरेका भ्रम
नेपाली चलचित्रको छवि धुमिल बनाउने एउटा काम विनामापदण्डका चलचित्र अवार्डहरु हुन् । राज्यले यस्ता विना मापदण्डका अवार्ड वितरण तत्काल रोक्नु पर्छ । नेपालमा सरकारी निकायको संलग्नतामा तथा निजि क्षेत्रबाट दर्जनौँ अवार्ड कार्यक्रम हुने गरेका छन् । पछिल्ला दिनमा यस्तो अवार्ड स्वदेशमा भन्दा बढी विदेशमा हुन थालेको छ । यस्ता अवार्ड विवादरहित त छैनन नै, बरु कलाकार छनौटदेखि वितरण समारोहसम्मका अपारदर्शी र अस्तब्यस्त गतिविधिले नेपाली चलचित्रको छवि बिगार्न पर्याप्त भूमिका खेलेको देखिन्छ । सामान्यतया कुनै स्वदेशी वा विदेशी नागरिकले नेपाली चलचित्रबारे अध्ययन गर्न खोज्यो भने नेपाली चलचित्र अवार्डको सुची र ओस्कारका लागि नेपालको प्रतिनिधित्व गरेका चलचित्रहरुनै सबैभन्दा पहिले हेर्छ । लाजमर्दो अवस्था त्यतिबेला आउँछ, जुन एकै बर्षका लागि आयोजना गरिएका फरक फरक अवार्ड कार्यक्रममा पुरस्कार पाउनेहरुको सेटनै फरक फरक हुन्छ । के सय भन्दा कम चलचित्र बन्ने देशमा वितरणहुने अवार्ड सेटका सेटनै भिन्न भिन्न हुन सम्भव छ ? निश्चित मापदण्ड र पारदर्शी विधि नहुँदा नेपालमा यो सम्भव हुँदै आइरहेको छ । लाजमर्दो अझ थपिने कुरा के भने जो आफ्नो टिकट काटेर विदेशमा हुने कार्यक्रममा जान सक्छ, ऊ अवार्डको दावेदार हुन्छ । जान नसक्ने लिष्टबाट बाहिर हुन्छ । के यस्ता अवार्ड कार्यक्रमले नेपाली चलचित्रको स्तर उकास्न र छवि उचो बनाउन सहयोग गर्ला ? पक्कै पनि गर्दैन । त्यसैले निश्चित मापदण्ड नभएका र स्पष्ट आय स्रोत नभएका अवार्ड आयोजकलाई राज्यले प्रतिवन्ध लगाउनु पर्छ । निश्चित मापदण्ड पूरा गरी आयोजना गर्ने आयोजकलाई राज्यले सह आयोजकका रुपमा सघाउन सक्छ । कहिले जहाजमा कहिले पानी मुनी जस्ता रेकर्ड राख्ने नाममा भईरहेको बेईज्ज्तीले नेपाली सिनेमाको प्रगतिमा कहिले पनि सहयोग गर्दैन ।
सेन्सरको क्यान्सर
चलचित्रको गुणस्तर कायाम गर्न महत्वपुर्ण भुमिका निर्बाह गर्न सक्ने निकाय हो सेन्सर बोर्ड । तर आमनागरिकले सेन्सर बोर्डलाई हेर्ने दृष्टिकोण भनेको कति मिनट लामो चुम्बनको दृष्य देखाउन पाउने, कति मिनेटसम्म विस्तारामा कलाकारले नग्न घर्षण देखाउन पाउने भनेर तोक्ने समितिको रुपमा बुझने गरेका छन् । करिब भूमिका पनि त्यस्तै देखिन्छ । सेन्सर बोर्डले सरोकारवालासँग बसेर प्रष्ट नीति निर्माण गर्न सक्नु पर्छ । आम चलचित्रकर्मी, कला संस्कृतिका विज्ञ, साहित्यकार, समिक्षक सबैलाई राखेर यस बिषयमा छलफल गरेर प्रष्ट मापदण्ड बनाउनु पर्छ । कतिपय चलचित्र बनिसकेर सेन्सरका कारण प्रर्दशनमा जान पाउँदैनन । तर त्यही दृष्य फेरी केही समयपछि ईन्टरनेटमा उपलब्ध हुन्छन् । यस्तो लुकामारी कहिलेसम्म जारी राख्ने हो ? मापदण्ड प्रष्ट भएपछि यो अवस्था सृजना हुँदैन । चलचित्र बनाउनेले पनि श्रम, सीप समय र पैसा लगानी गर्नु अघि एकपटक आफू प्रष्ट हुनु जरुरी छ । पछि अदालत धाउनु बेकार हो । नेपालमा दुःखको कुरा के छ भने दुई बर्ष अघि जस्को चलचित्र सेन्सर बोर्डको विवादमा पर्यो त्यही मानिस दुई बर्षपछि सेन्सर बोर्ड सदस्य भैसकेको हुन्छ । यस्तो अवस्था आउन दिनु हुँदैन ।
स्टुडियो निर्माण
नेपाली चलचित्र गुणस्तर बनाउन नभै नहुने पूर्बाधारमा स्टुडियो पनि हो । खेलकुदका लागि कभर्डहल स्टेडियम चाहिए जस्तै चलचित्रका लागि सुविधा सम्पन्न स्टुडियो आवश्यक छ । स्टुडियो भएमा चलचित्रकर्मीले चाहे जस्तो परिवेश देखाउन सेट लगाउन सक्छन् । कलाकारले रिहर्सल गर्न पाउछन् । खुला स्थानमा सुटिङ गर्दा मान्छे, यातायात ब्यवस्थापनदेखि मौसम सम्मको प्रतिकुलतासंग जुध्नु पर्ने हुन्छ । यस्तो सुटिङ लम्बिदा लगानी बढ्ने खतरा हुने, कलाकारको समय ब्यवस्थापन गर्न चुनौति हुने भएकाले निर्माता निर्देशकले आफूले खोजेको जस्तो चलचित्र बनाउन भन्दा पनि निर्माण सक्न तिर बढि ध्यान दिनु पर्ने हुन्छ । नेपालमा चलचित्र निर्माण गर्ने धेरै कम्पनीको आफ्नो कार्यालय पनि छैन । धेरैले चलचित्र निर्माता निर्देशकका घरका कोठा, होटलका कोठाबाटै काम चलाइरहेका छन् । यो बाध्यताबाट छुटकारा दिन राज्यले कन्जुस्याई गर्नु हुँदैन । स्टुडियो बिनाको चलचित्र निर्माण भनेको सुकुम्बासी पारा हो । राज्यले जमिन र केही लगानी गरे निजि क्षेत्रसँग मिलेर यसको संचालन गर्न सकिन्छ । स्टुडियोको निर्माणपछि चलचित्र निर्माणका बिभिन्न पक्षको अध्ययन गर्न चाहनेका लागि पनि सहज हुने भएकाले चलचित्रको अध्यापन गराउने कलेजसंचालकले पनि ध्यान दिन जरुरी छ ।
कथा जरुरी
कतिपय चलचित्रका निर्माता निर्देशक रातिसंगै बसेर मदिरा सेवन गर्छन । मदिरा खाँदा खाँदै कथाको सृजना हुन्छ । कलाकार छनौट हुन्छ । भोलिबाट क्यामेरा लिएर सुटिङमा हिँड्छन् । यो हाम्रो नेपाली चलचित्रको तितो सत्य हो । यसरी ब्यवस्थित तयारी बिना बन्ने चलचित्रले नेपाली चलचित्रको गरिमा कुनै पनि हालतमा बढ्दैन । त्यसैले कथा लेखनदेखि चलचित्रको सुटिङ शुरु गर्नका लागि आवश्यक तयारी गर्न कम्तीमा तीन महिनाको समय लाग्न सक्छ । आवश्यक तालिका निर्माण गरि निर्माण शुरु गरिए ६० प्रतिशत लगानी बचत हुन्छ । चलचित्रमार्फत जे भन्न खोजिएको हो त्यो ७० प्रतिशत अझ राम्रोसँग भन्न सकिन्छ । तर यस्तो गृहकार्यको अभ्यास हाम्रो नेपाली चलचित्र उद्योगमा ब्यवस्थित हुन सकेको छैन । तीन महिनामा एउटा चलचित्रको तयारीमा बिताउने हो भने तीन महिना के खाने भन्ने समस्या पनि हुन सक्छ । तर सबै चलचित्र युनिटले गर्ने तयारी होइन । यसमा निर्देशकसहित केही प्राविधिक समूहको मात्र भुमिका हुन्छ । केही समय अघि एक जना चर्चित चलचित्र निर्देशक मनोज पण्डितको लेख प्रकाशित भएको थियो । त्यसमा उनको प्रष्ट कथन थियो – हामी कथा भन्दा ईस्युुमा केन्द्रित भयाँै । चलचित्र त कथामा बनाउनु पर्ने रैछ । पाँच वटा जति चलचित्र बनाइसकेपछि को अनुभव हो यो । यो नवआगन्तुकले राम्ररी बुझ्नुपर्छ । तर राम्रा कथामा बनेका चलचित्र पनि अससफल भएका उदाहरणहरु छन् । कारण त्यो कथालाई पर्दामा उतार्ने कला पनि हुनु पर्छ । कतिपय राम्रा कथा प्रविधि, लगानी लगायतको सीमितताका कारण पनि पर्दामा राम्रोसँग उतार्न सकिएको हुँदैन । यो कुराको पहिलेनै समिक्षा गर्न जरुरी छ ।
नेपाली भाषाको चलचित्र बनाउने कथाको लाईन भन्दा बाहिरको उत्तेजक दृष्य राख्ने यौननै बेच्न खोज्नेहरुले नेपाली कला संस्कृतिको संरक्षण होइन्, चीर हरण गरेका छन् ।
सम्बाद: बाचन गर्ने, पढ्ने कि अभिब्यक्त गर्ने ?
नेपाली चलचित्रको कमजोर पक्षका बिषयमा विज्ञसंग छलफल भो भने सबैभन्दा बढि नकारात्मक टिप्प्णी हुने ठाउँ हो सम्बादको प्रस्तुतिकरण । डायलग डेलिभरी नेपाली चलचित्रको मात्र होइन, सायद संसारभरका चलचित्रकर्मीका लागि बिषेश कुरा हो । जुन कलाकारले चलचित्रको कथा पढेको छ । आफुले निभाउनु पर्ने चरित्रबारे अध्ययन गरेको छ । आफ्नो सम्बाद राम्ररी पढेर त्यसलाई कुन भाव अनुसार प्रस्तुत गर्ने भन्ने तयारी गरेको छ । र, त्यसका लागि आफूसँग कला पनि छ भने त्यो सफल हुन्छ । सम्बाद बाचन वा पढे जस्तो सुनिन्छ, देखिन्छ । यो नेचुरल अर्थात प्राकृतिक देखिदैन । अधिकांश सम्बाद आबेशमा आएर बोलेजस्तो सुनिन्छ । परिस्थतिको बास्तविक भाव त्यसमा देखिँदैन । यो अभ्यासबाटै मात्र समाधान हुन सक्छ । यो कुरामा रंगमञ्चबाट आएका कलाकारको प्रस्तुति अब्बल देखिन्छ । पछिल्लो समयमा नेपाली चलचित्रमा रंगमञ्चबाट आएका कलाकारको बोलबाला बढ्नुमा पनि यसको भूमिका छ । विगतमा पनि रंगमञ्चबाट आएका कलाकारको पहिचान नेपाली चलचित्रमा पृथक रहँदै आएको छ । यो भारतीय तथा अन्य मुलुकका चलचित्रमा पनि प्रभावकारी देखिदै आएको पाइएको छ । रंगमञ्चमा दुईचार नाटकमा भुमिका निभाएका कलाकारलाई प्राथमिकता दिँदा चलचित्रको स्तर बढ्ने कुरा नकार्न सकिन्न ।
नेपाली कला संस्कृतिको प्रयोग
नेपाली गीत संगीतको आफ्नै मौलिकता छ । भुगोल अनुसारका लय बाद्यबाधनहरुले नेपाली कला संस्कृति सम्मृद्ध छ । तुलसी घिमिरेले बनाएका चलचित्रमा हरेक चलचित्रमा कुनै न कुनै कलालाई बिशेष गरि उठान गरेको देखिन्छ । कँही टुंगुना, कँही समलाको प्रयोग भएको पाईन्छ । अन्य कलाकारले यस्तो प्रयोगको कला देखाएको देखिँदैन । लहना चलचित्रमा निरुता सिंहको नृत्य थालिनाँच एक मौलिक नाँच थियो । कतिपय चलचित्रकर्मीले नेपाली पर्बहरु तीज तिहारका गीत पनि समाबेश गरेको देखिन्छ । तर त्यसमा प्रयोग गरिने नेपाली बाद्यबाधन र नृत्यको प्रयोग देखिँदैन । भारतीय चलचित्रमा पनि ए आर रहमानले संगीत भरेका कतिपय चलचित्रमा कुन समयको कथा छ त्यस अनुसारका संगितका बाद्यबाधन वा धुन प्रयोग गर्ने गरिएको देखिन्छ । ब्यवसायिक गायक भन्दा पृथक लोक गायकलाई नै आवाज दिन लगाइएको पनि पाइन्छ । यो अभ्यास नेपाली चलचित्रमा अत्यन्त न्युन भएको पाइन्छ । मौलिक नेपाली पोशाक, नेपाली बाजा, नेपाली धुनको प्रयोग छैन भने त्यो चलचित्र संस्कृतिको संरक्षण नभएर ब्यवसाय मात्र हो । त्यस माथि छरपष्ट विभिन्न भाषा मिसाएर नेपाली भाषाको चलचित्र बनाउने कथाको लाईन भन्दा बाहिरको उत्तेजक दृष्य राख्ने यौननै बेच्न खोज्नेहरुले नेपाली कला संस्कृतिको संरक्षण होइन्, चीर हरण गरेका छन् ।
चलचित्र अध्ययनमा छात्रबृत्ति
अझै पनि अभिभावकले आफ्ना सन्तानले चलचित्र क्षेत्रमा केही गरोस भन्ने चाहना राखेको पाईदैन । आफ्नै जोडबलले वा कलाका अनुरागीले चलचित्र अध्ययनमा लागेको देखिन्छ । नेपालमा कला क्षेत्रमा राम्रो गर्न सक्ने सम्भवना बोकेका कलाकारलाई औपचारिक अध्ययनका लागि नेपाल सरकारले केही बर्ष छात्रबृति उपलब्ध गराउनु आवश्यक छ । यस्तो छात्रबृति विभिन्न मुलुकले आफै पनि उपलब्ध गराउन सक्छन् । यसरी छात्रबृति दिँदा प्रविधि क्षेत्रलाई बढी प्राथमिकता दिनु पर्छ । खाली समन्वयको आवश्यक छ । यसले नयाँ प्रविधि र सिप भित्राउन सहयोगी भूमिका खेल्छ । प्रविधिगत रुपमा भारतीय सिनेमा अन्र्तराष्ट्रिय बजारमा अब्बलनै मानिन्छ । तर दक्षिण भारतीय सिनेमा प्रविधिका हिसाबले अझ अब्बल हुँदै गएको पछिल्ला बर्षका चलचित्रले देखाएको छ । प्रविधिको प्रयोगले कथालाई कसरी पर्दामा सहज रुपमा उतार्ने भन्ने चिन्तालाई सहज बनाइसकेको छ । सन् १९६० को दशकमा निर्माण भएको श्यामश्वेत चलचित्र मुगल ए आजमलाई २००४ मा रंगिन रुपमा प्रस्तुत गरियो । सन १९७०को दशकमा निर्माण भएको चलचित्र शोलेलाई थ्री डीमा पुनः निर्माण गरियो, प्रविधिको सहयोगमा । यो नविनतम प्रयोग हो । पछिल्ला बर्षमा यसको ब्यापक प्रयोग भएको पाइन्छ । बाहुबलिको भब्यतामा प्रविधिको प्रयोग महत्वपूर्ण छ । प्रविधिको प्रयोगले लगानीको न्युनीकरणमा पनि ठूलो भूमिका खेलेको छ ।
नेपाली चलचित्रका बिषयमा छलफल गर्नुपर्ने बिषय धेरै छन्, आज प्राथमिक लागेका सात बिषयमा आफ्ना धारणा राखे आफ्ना बिचार राख्नु होला ।
नवलपरासी, बर्दघाटका बस्याल हाल युएईमा कार्यरत छन् ।















प्रतिक्रिया