३ कार्तिक २०८३, मंगलबार

प्रदेश–२ को विकृत राजनीति : कतै यौन शोषण कतै ‘पत्नी पोषण’ !

137k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । १२ चैत, २०७४ को प्रदेश–२ को प्रदेश सभा बैठक सकिए पछि सोही ठाउँमा पुगेकी स्वास्थ्यकर्मी निशा झाले राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनलाई एउटा कागज देखाउँदै उनको दलका केन्द्रीय सदस्य रमन सिंहले आफ्नो यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।

सिंहले सरुवा गराइदिन्छु भन्दै निशासँग पटक–पटक शारिरीक सम्बन्ध राखेको उनले बताएकी थिइन् । त्यतिमात्र होइन, उल्टै घुसको ६ लाख समेत लिएर भागेको उनले आरोप लगाइन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएर यौन शोषण गरेको उनको आरोप थियो । निशा आफैं पनि ठगीको आरोपमा जेल परेकी थिइन् । जेलमुक्त भएपछि सिंहसँग उनको सम्पर्क भएको थियो । जसको हो–हल्ला र कोकोहोला प्रदेश सभामा पनि भयो ।

निशाले भनेकी थिइन्,‘रमन सिंह भन्छ भूमिगत छु । तपाईको कार्यकर्ता, केन्द्रीय सदस्यलाई सम्पर्क गर्नुस् । यदि म दोषी छु भने मलाई काबारही गर्नुस् तर, राजेन्द्र महतोलाई देखाएर मलाई शोषण गरिएको छ, मेरो पैसा लगिएको छ ।’

उनले त आफ्नो सञ्चयकोषको रकम समेत सिंहले लगेको आरोप लगाएकी थिइन् । उनको सरुवाका लागि महतोसँग भेट भएको पनि पुष्टि भइसकेको थियो । तर, काम नभएपछि निशाले प्रदेश सभामा ताण्डव दृश्य देखाएकी थिइन् । सिंहविरुद्ध निशा र निशाविरुद्ध सिंहको उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा परेको थियो ।

प्रदेश–२ अर्थात् मधेसमा विकृत राजनीतिले जरा गाड्न थालेको छ । राजपा र संघीय समाजवादी फोरमका कतिपय नेताले कर्मचारी, त्यसमाथि महिला कर्मचारीलाई सरुवा, बढुवाको प्रलोभनमा पारी अफेयर समेत चलाउने गरेका छन् । त्यतिमात्र होइन, उक्त प्रदेशको केन्द्रसम्म पुगेका नेताका त अफेयरका चर्चा नै चल्ने गरेका छन् ।

राजपा अध्यक्ष मध्येका एक महतोले त प्रेमका कारण नै एकजना युवतीलाई समानुपातिक सांसद बनाएको अभियोग पनि खेपे । नरमाया ढकालसँग उनको अफेयर रहेको चर्चा पनि चुलियो ।

त्यतिमात्र होइन, मधेस राजनीतिका कारण जनमत पाएका दलका नेताहरूले जनताको मर्म भन्दा पनि पत्नीको पोषणमा राजनीतिको सम्झौता गरेको आरोप लाग्न थालेको छ ।

प्रदेश २ को मन्त्री नियुुक्त गरेपछि देखाएको ध्वाँसका कारण यतिबेला राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा र उनकी पत्नी डा. डिम्पल झाको चर्चा चुुलिएको छ । पत्नीलाई समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाएर मन्त्री नै नियुक्त गरेपछि अनिलको आलोचना बढेको हो । कतिपयले झाले मधेस आन्दोलनमा मारिएका सहिदको रगतसँग पत्नीको सुविधा साटेको आरोप समेत लगाएका छन् ।

त्यसो त मधेस राजनीतिको विकृत चेहरा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मात्र देखिएको होइन । यसअघि भएको संविधानसभा १ र २ मा पनि नेताहरूले पत्नीलाई संविधानसभासम्म छिराएका थिए । आफु पराजित हुँदा पनि ५० प्रतिशत महिला सहभागीताका नाममा आफ्ना पत्नीलाई राजनीतिको मुलधार र केन्द्रमा राखेर राजनीति नगरिएको होइन ।

संविधानसभा–२ मा तत्कालिन मधेसी जनाधिकार फोरम गणतान्त्रिकका तर्फबाट समानुपातिक सांसदमा अहिलेका राजपा नेता राजकिशोर यादवले पत्नी सरिताकुमारी यादवलाई सदस्यमा पठाएका थिए । उनले पार्टी चलाउनका लागि पत्नीलाई सांसद बनाइएको अनर्थपूर्ण तर्क समेत दिएका थिए ।

यस्तै संविधानसभा– २ मै अनिलले पत्नी डिम्पललाई नै सांसदमा पठाएका थिए । उक्त समयमा पनि उनले पत्नीलाई राजनीतिक पद र प्रतिष्ठा दिलाउन पार्टीमा एकल निर्णय चलाएका थिए ।

उता, महतोले पनि संविधानसभा २ का बेला पत्नी शैलीदेवी महतोलाई महिला प्रतिनिधित्वका आधारमा सांसद बनाएका थिए । त्यसबेला त शैलीदेवी मन्त्री समेत बन्ने चर्चा थियो । तर त्यो सम्भव भएन ।

‘राजनीतिमा थोरै ज्ञान नभएका पत्नीलाई अवसर दिने र जनतालाई झुक्याउने मधेसको नियती बनिसकेको छ’, मधेस मामिलाका एक विश्लेषकले भने,‘फेरि प्रदेश सरकार गठन भएपछि नेता र तिनका आफन्तको काण्डैकाण्ड आउन थालेका छन् ।’ उनले मधेसमा यस्तो विकृत राजनीतिले जरा गाडेको बताए । राजनीतिमा पहुँच नहुँदासम्म जनताबीचमा आन्दोलन गराउने र मौका आएपछि आफ्ना आफन्तलाई पोस्ने मधेसी नेताको स्वभाव र चरित्रमा परिवर्तन नआएको उनले बताए ।

त्यसो त नातावाद र कृपावाद मुलधारका राजनीतिक दलमा पनि नभएको होइन । तर आकार ठूलो भएकाले आफन्तलाई मौका दिँदा दिँदै पनि कार्यकर्ता र अन्य नेताको अवसरलाई सन्तुलित बनाउन उनीहरू सफल भएको उनको विश्लेषण छ । ‘केही नेताले आफन्तलाई मौका दिएका छन् तर राजनीतिक पृष्ठभुमी बनाएर मौका दिए, मधेसका नेताको जस्तो विकृत हिसाबले होइन’, ति विश्लेषकले थपे,‘मधेस आफैंमा आन्दोलनले थलिएको र थाकेको प्रदेश हो, नातावादी र नाफाखोरीले राजनीतिलाई धुमिल बनाएको छ ।’