
काठमाडौं, १६ साउन । नेपालले बुधबार ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । नेपालले आफ्नो पहिलो एक दिवसीय क्रिकेट नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार बुधबार पौने ३ बजेबाट सुरु हुँदैछ । आमस्टेल्भिन स्टेडियममा नेपालले नेदरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेदरल्यान्डसँग नेपालले २ खेलको एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ । नेपाली क्रिकेट टिमले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नुका साथै नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो ।
गएको आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए । नेपालका लागि यो खेल इतिहास पनि हो । नेपाल र नेदरल्याण्डबीच भएको खेल भने वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो ।
नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।
सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो ।















प्रतिक्रिया