
काठमाडौँ, १४ साउन । गाँउ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ–नेपाल) को मंगलबार निर्वाचनका लागि अध्यक्षका प्रत्यासी बासुदेव पाण्डे समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
पाण्डे समूहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटा तथा सदस्यहरुमा देवीकृष्ण रोकाय, जीवन थपलिया, चोपेन्द्रबहादुर खड्का र दिपक पंगेनी रहेका छन् ।
अध्यक्षका प्रत्यासी पाण्डे समूहको घोषणापत्रमा हरेक दुई महिनामा कुनै एउटा गाउँको पूर्ण जानकारी सहितको पर्यटन प्रवर्वद्धनात्मक कार्यक्रम गर्ने, गाउँ पर्यटनलाई राष्ट्रिय पर्यटनको मुलधारमा ल्याउन पहल गर्ने, प्रत्येक प्रदेशमा भिटोफ नेपालको शाखा विस्तार गरि प्रत्येक प्रदेशको एक गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, पर्यटन वर्ष २०२० को उद्देश्यलाई ध्यानमा राखी गाउँ पर्यटन प्रवर्द्धनको योजना बनाई कार्यक्रम अगाडि बढाउने, केन्द्रिय सरकार, प्रदेश सरकार र पर्यटन संघसंस्था, व्यवसायी र गाउँसँग समन्वय गरी घरआवास सञ्चालन गर्न व्यवस्थित गाईड लाइन बनाई स्तर बृद्धि गर्ने समेत उल्लेख गरिएको छ ।
त्यस्तै विगतमा भएको र वर्तमानमा भइरहेको भिटोफ नेपालको काम र कार्यक्रमलाई अझ बढि प्रभावकारी रुपमा अगाडि बढाउने, पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरी पर्यटन प्रवर्द्धनमा जोड दिने, पर्यटनसँग सम्बन्धित गाउँहरुमा विभिन्न किसिमका तालिमहरु सञ्चालन गरी गाउँलेहरुलाई दक्ष, आत्मनिर्भर बनाई आर्थिक उन्नतिमा जोड दिने, भिटोफ नेपाल र व्यवसायीहरु बीच सुमधुर सम्बन्ध बनाई आगामी दुई वर्षभित्र ९९९ जना सदस्य बनाउने, गाउँ पर्यटन महोत्सव २०१९ आयोजना गर्नका लागि सरकार, पर्यटन बोर्ड, पर्यटन संघसंस्थासँग समन्वय गरी अघि बढाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
गाउँ पर्यटनसँग सम्बन्धित विषयलाई समेटी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने, कल्चरल मेघा इभेन्टको आयोजना गर्न पहल गर्ने, गाउँलेको भवन निर्माण गर्नका लागि सरकार तथा व्यवसायीहरुसँग पहल गर्ने विषयलाई पाण्डे समूहको घोषणापत्रमा समेटिएको छ ।
अध्यक्षका प्रत्यासी पाण्डेले घोषणापत्र सार्वजनिक गर्दै गाउँ पर्यटन नेपाल डिजिटल रुपमा अगाडी बढाउने, गाउँ पर्यटन प्रवर्द्धन गर्नका लागि आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने, होमस्टेलाई भिटोफ नेपालसँग आवद्ध गराउने योजनासहित स्थानीय भेषभुषा, कला, संस्कृति तथा परिकारको जगेर्ना र प्रवर्द्धन गर्ने तथा नतिजामुखी भएर काम गर्ने आफूहरुको योजना रहेको जानकारी गराए ।















प्रतिक्रिया