३ कार्तिक २०८३, मंगलबार

के कांग्रेसले लासमाथि राजनीति गरेकै हो ?

119.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । संसदको रोस्टमबाट कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने,‘बलात्कार गरी हत्या गरिएकी निर्मला पन्तका परिवारले न्याय गर्नुपर्छ भन्दा कांग्रेसले लासमाथि राजनीति गरेको अभियोग लगाइयो, यो आपत्ति जनक छ ।’

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीका सन्दर्भमा कांग्रेसले गरेको आन्दोलनलाई कटाक्ष गर्दै लासको राजनीति गर्न थालेको आरोप लगाएका थिए । त्यतिमात्र होइन, उनले कांग्रेस एजेन्डाविहीन भएपछि गोविन्द केसीको लास बनाएर राजनीति गर्न खोजिरहेको आरोप उनले लगाएका थिए ।

नेकपाका कतिपय नेताले अहिले यस्तै भाषामा कांग्रेसमाथि प्रहार गरिरहेका छन् । के कांग्रेसले लासमाथि राजनीति गरेकै हो ?

‘१७ हजार मानिसको लासमा टेकेर जो राजनीतिको केन्द्रविन्दुमा पुग्यो, मान्छेका टाउको काटेर जसले राजनीति गरेको छ त्यसले यस्तो प्रश्न गर्न सुहाउँदैन’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्,‘कसले लासको राजनीति गरेको थियो, गर्न खोजेको हो त्यसको हेक्का राखौं ।’

प्रतिपक्षमा रहेका कारण सामयिक विषयमा कांग्रेसले सरकारसँग जोडदार माग गर्दै आएको छ । संसदमा कांग्रेसका तर्फबाट संसदको शून्य समयमा बोल्दै नेत्री उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था भएकाले नेपालमा पनि बलात्कारीलाई मृत्युदण्ड दिन माग गरिन् ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषयमा उनी निक्कै आक्रोशित भएर प्रस्तुत भइन् । ‘बृद्धादेखि बालिकासम्म बलात्कारको शिकार भइरहेका छन्, निर्मला पन्तको पनि बलात्कार भयो । कानुन संशोधन गरी मृत्युदण्डको सजाय राखौं ।’

निर्मलाको लासमाथि राजनीति गर्न खोजेको भनेर नेकपा सांसद निरु पालले आरोप लगाएपछि उनले त्यसको खण्डन पनि गरिन् । ‘बलात्कारीलाई कारबाही नगरी निर्दोष जनतालाई ठोक्ने, अनि कांग्रेसले लासको राजनीति गर्यो भन्ने ?’

बिरोध र दोषीमाथि कारबाहीको माग गर्ने जनतामाथि लाठी बर्साउने र संसदमा लासको राजनीति गरेको भनेर कांग्रेसलाई आरोप लगाएकोप्रति आक्रोशित भएकी उनले थपिन्,‘कांग्रेस लासको राजनीति गर्दैन ।’

कांग्रेसकी अर्का सांसद डिला संग्रौलाले सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाइन् ।