
काठमाडौँ, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्राध्यापक डा. गोविन्द केसीको अनशनलाई अन्तिम बनाउन सरकार इमान्दार बन्नुपर्ने बताएको छ ।
केसीले अनशन तोडेको भोलीपल्ट केन्द्रीय कार्यायल सानेपामा पत्रकार सम्मेलन गरेर काँग्रेसले सरकार र केसीलाई धन्यवाद पनि दिएको छ ।
सहमतीको इमान्दार कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने काँग्रेसको विश्वास रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सरकारले बिहीबार तोडिएको केसीको अनशनलाई नै अन्तिम बनाउने विश्वासका साथ विधेयकप्रतिको विरोधको सूचना संसदमा फिर्ता लिएको शर्माले बताए ।
डा. केसीको लामो अनशन, संसदमा नेपाली कांग्रेसको शसक्त प्रस्तुती, सडकमा हज्जारौंको प्रदर्शन पश्चात अन्तत जनभावनाको कदर गर्न सरकार बाध्य भएको काँग्रेसको ठहर छ ।
आफ्नै नेतृत्व कालमा दुईबाट दुई दर्जन मेडिकल कलेज पुगेको, संख्या बढेपछि समस्या पनि बढेको स्वीकार्दै काँग्रेसले समाधानका लागि डा. केसीको माग सुनुवाई गर्दै माथेमा कार्यदल कांग्रेसले नै गठन गरेको पनि दाबी गरेको छ ।
केसीका माग पुरा गर्दै अध्यादेश कांग्रेस सरकारले नै जारी गरेको भन्दै विगतमा सरकारमा रहँदा शुरुवात गरेको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र अग्रगतिको एजेण्डालाई विपक्षमा रहँदा पनि निरन्तर अघि बढाउने प्रवक्ता शर्माले स्पष्ट पारे ।















प्रतिक्रिया