
-सञ्जिला तामाङ
श्रावन महिना धेरै मानिसहरुलाई मन पर्ने महिना हो । खेती गर्ने किसानको लागि यो खेती लगाउने महिना पनि हो । पशुपालक किसानलाई यो राम्रो घाँस उत्पादन हुने महिना हो । वर्षा मन पराउनेको लागि यो अधिक वर्षा हुने महिना हो । सुकेका खहरेहरुमा पनि सङ्लो पानी कलकल बग्ने, फुस्रा डाँडा पाखाहरु पनि बोट विरुवा र घाँसले हरियाली हुने, अनि टार र फाँटमा धानको रोपो सरेर हरियाली हुने । साँच्चै प्रकृतिले सबैतिर हरियाली बनाइदिएको महिना हो श्रावन महिना । प्रकृतिको हरियालीसँग नरमाउने मन कसको होला र ! तर, हिजो आज श्रावन महिनामा प्राकृतिक हरियाली भन्दा पनि कृतिम हरियालीले ढाकेको महसुस हुन्छ ।
एक हिसावले श्रावन महिना महिलारुहरुको सुन्दरता प्रदर्शन गर्ने महिना जस्तै भएको छ । लाग्छ यो प्रवृति विस्तारै आवश्यक भन्दा पनि अनावश्यकतातिर गइरहेको छ ।
हिन्दु धर्मालम्बिहरुको लागि श्रावन महिना विशेष महिनाको रुपमा लिने गरिन्छ । भगवान शिवको आराधना गर्ने महत्वपूर्ण महिनाको रुपमा यसलाई लिइन्छ । यो महिना महिलाहरुको लागि विशेष मानिन्छ । श्रावन महिनामा महिलाहरुले हरियो चुरा, पोते, टिका, मेहन्दी लगाउने गर्दछन् । एक हिसावले श्रावन महिना महिलारुहरुको सुन्दरता प्रदर्शन गर्ने महिना जस्तै भएको छ । लाग्छ यो प्रवृति विस्तारै आवश्यक भन्दा पनि अनावश्यकतातिर गइरहेको छ ।
धर्म, संस्कार र समुदायमा हरेक दिन र महिनाको आ–आफ्नै मूल्य र मान्यता हुन्छन् । त्यही मूल्य मान्यता बोकेर नै समाज अगाडी बढि रहेको हुन्छ । यो मानिसलाई बाँच्नको लागि आशा जगाउने एउटा क्रम पनि हो । पौराणिक कथा अनुसार भगवान पार्वतीले शिवलाई खुसी पार्न श्रृङ्गार पटार गरी श्रावन महिना भरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा लिइन्छ । विशेषतः श्रावन महिनामा महिलाहरूले हरियो चुरा, पोते, लुगा, हात अनि गोडामा मेहन्दी लगाउने प्रचलन छ । श्रावन महिना आफैमा महत्वपूर्ण महिना हुँदा हुँदै पनि श्रावन महिनाको सोमबारलाई महिलाहरुले बिशेष रुपमा मनाउने गरेका छन् । बिहानैदेखि शिव मन्दिर गएर पुजापाठ गरि ब्रत बस्ने गरिन्छ । विवाहिताहरुले आफ्नो पतिको लामो आयुको लागि ब्रत बस्छन् भने अविवाहिताहरुले राम्रो वर पाउन भन्ने कमना गर्दै सोमबार ब्रत बस्ने मान्यता रहेको छ ।
हिजोआज सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम आदि हरिया चुरा, पोते, टिका र मेहन्दीले भरिएका छन् । हेर्दा लाग्छ यो कुनै उत्सव भन्दा कम छैन ।
यी र यस्ता मूल्य मान्यताहरु समाजले नै बनाएको हो । समाज भन्नाले त्यहाँका व्यक्तिहरुलाई जनाउँछ । कुनै कालखण्डमा आएर कुनै व्यक्ति समूहले ती मूल्य मान्यता बनाए, सामाजिक संघसंस्था, संरचनाको निर्माण भयो । यसरी नै विभिन्न मूल्य मान्यता समाजमा स्थापित हुँदै गए । फलस्वरुप आजसम्म पनि यस्ता मूल्य मान्यताले निरन्तरता पाइरहेका छन् । विभिन्न स्वरुपमा र विभिन्न नाममा त्यसको पुर्नउत्पादन भइरहेको छ । त्यसमध्ये श्रावन महिना पनि एक हो ।
यस लेखमा विशेष गरी श्रावन महिना र लैङ्गिकत्वको विषयलाई उठाउन खोजेकी छु । त्योसँगै श्रावन महिना : बजार, फेसन, वर्ग, धर्म, क्षेत्र आदिको कुरा पनि समेट्ने प्रयास गरिएको छ । हिजोआज सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम आदि हरिया चुरा, पोते, टिका र मेहन्दीले भरिएका छन् । हेर्दा लाग्छ यो कुनै उत्सव भन्दा कम छैन । समय परिवर्तनसँगै पुराना मूल्य मान्यताहरु पनि परिवर्तन हुँदै आएका छन् । श्रावन महिनाको धार्मिक तथा आध्यात्मिक महत्वलाई अलि परै राखेर सामाजिक सञ्जाल भर्न, अनि कसैलाई प्रदर्शन गर्नको लागि महिलाहरु तँछाड, मछाड गरि रहेका छन् । पुराना मूल्य मान्यतालाई चिर्दै अघि बढ्नु पर्ने आधुनिक र सभ्य भनिएका महिलाहरु नै यस्तो काममा बढि लागेका देखिन्छन् । यसले एउटा गम्भिर प्रश्न उठाएको छ : कि पुराना मूल्य मान्यता र अन्धविश्वासलाई चिर्न शिक्षाले मात्रै सक्छ त ? त्यसो भए शिक्षित भनिएका नारीहरुमै किन यसको प्रभाव अझ बढ्दै छ त ?
महिलाले अरुको लागि ब्रत बसिदिनु पर्ने, उसको नाममा पूजा गरिदिनु पर्ने, चुरा, पोते अनि मेहन्दी पनि लगाई दिनुपर्ने । सजिएर कामवासनाले भरिएकी पुतली बनिदिनु पर्ने । आफूले सब कष्ट सहेर अरुका लागि कामना गरिदिनु पर्ने ।
हुनत ब्रत बसेर, हरियो चुरा, पोते, मेहन्दी लगाएर न त श्रीमानको आयु बढ्ने हो न त मनले चिताए जस्तो राम्रो श्रीमान नै पाइने हो । के यो बारेमा हाम्रा शिक्षित भनिएका पढेलेखेका महिलाहरु अनविज्ञ नै होलान् त ? विगतमा यस्ता चाडपर्वले पारिवारीक मिलन, खुसी, एकता र सद्भाव प्रकट गर्दथे । तर, अहिले अनावश्यक खर्च र यस्ता प्रदर्शनले परिवारमा मनमुटाव, अविश्वास र असमझदारी बढाउँदै लगेको छ । हरेक यस्ता चाडपर्वहरु किन खाली महिलालाई प्रदर्शन गर्ने गरि लक्षित गरेर बनाएका हुन्छन् ? अनि आधुनिक, सभ्य र सुसंस्कृत भनिएका महिलाहरु किन यसमा अझ बढि प्रयोग हुँदै गएका छन्? जस्तै श्रावन महिना, तीज आदि–आदि । यस बारेमा सोच्नु आवश्यक छ । वर्षमा विभिन्न चाडपर्वहरु आउछन् प्राय ती सबै महिला केन्द्रित हुन्छन् । महिलाले अरुको लागि ब्रत बसिदिनु पर्ने, उसको नाममा पूजा गरिदिनु पर्ने, चुरा, पोते अनि मेहन्दी पनि लगाई दिनुपर्ने । सजिएर कामवासनाले भरिएकी पुतली बनिदिनु पर्ने । आफूले सब कष्ट सहेर अरुका लागि कामना गरिदिनु पर्ने ।
तर, महिलाको लागि भनेर पुरुषहरुले पनि त्यसैगरी कामना गर्नु पर्नेे दिन कहिल्यै आउदैन । किनकी ऐतिहासिक कालदेखिनै महिलालाई मात्र एकोहोरो यस्ता पात्र बनाइँदै आइएको छ । त्यसो भए महिलाले मात्रै खाली किन अरुको लागि पूजाआजा भनेर दौडिने अथवा मरिहत्ते गर्ने ? पहिला आफ्नै चिन्ता गर्न थालौँ । आफू समृद्ध र सफल भएपछि मात्रै अरुको पनि राम्रो कल्पना गर्न सकिन्छ । यस बारेमा सोचौँ ।
संस्कार र संस्कृतिको नाममा वर्षौदेखि महिलामाथि शोषण भइरहेको छ । यो संस्कार र संस्कृतिको पर्खाललाई भत्काउन महिलाहरु नै स्वयं लाग्नु पर्ने देखिन्छ । तर, विडम्बना हाम्रा शिक्षित भनिएका महिलाहरु अझ त्यसलाई नै वढावा दिने गरि प्रस्तुत भईरहेका छन् ।
व्यक्तिले गर्ने कृयाकलापले नै मूल्य मान्यता, संस्कृति तथा सामाजिक संरचनाहरुको निर्माण हुन्छ । तर पनि व्यक्ति आफैमा स्वतन्त्र छैन । व्यक्तिलाई विभिन्न सामाजिक संरचनाहरुले नियन्त्रण तथा सञ्चालन गरिरहेको हुन्छ । व्यक्ति र समाजबीच दोहोरो सम्बन्ध हुन्छ । एकले अर्कालाई डोहोर्याई रहेको हुन्छ । तैँले यो गर्न हुन्छ, त्यो गर्न हुँदैन भनेर जन्मिदै सामाजिकीकरण गरिन्छ । त्यसैगरी कामको बाँडफाड, लैङ्गिकीकरण गरिन्छ । पितृसत्तात्मक समाज, जसले महिलालाई सधै उपेक्षा गर्यो । संस्कार र संस्कृतिको नाममा वर्षौदेखि महिलामाथि शोषण भइरहेको छ । यो संस्कार र संस्कृतिको पर्खाललाई भत्काउन महिलाहरु नै स्वयं लाग्नु पर्ने देखिन्छ । तर, विडम्बना हाम्रा शिक्षित भनिएका महिलाहरु अझ त्यसलाई नै वढावा दिने गरि प्रस्तुत भईरहेका छन् ।
त्यसो त हरियो चुरा, पोते र मेहन्दी, गरगहना, महंगा लुगाफाटो, श्रृङ्गारका सामानको माग र प्रयोग बढ्नुमा पूँजीवादी बजारको पनि ठूलो हात छ । अहिलेको बजार यस्तो शक्तिशाली भएको छ की जो सुकैलाई पनि सजिलै आर्कषण गर्न सक्छ । प्रविधिको प्रयोगले बजारसम्म सबैको पहुँछ पुगेको छ । जसले गर्दा हरेक सामाग्रीहरु घरघरमा पुगेका छन् । त्यसैले शहरमात्र केन्द्रित नभएर गाउँ गाउँमा समेत हरियो चुरा, पोते, टिका र मेहन्दी, गहना, महंगा र आकर्षक डिजाइनका लुगाहरुको प्रचार तथा उपभोग बढ्दो छ ।
वर्ग अनुसार हेर्ने हो भने मध्यम वर्ग र उच्च वर्गका मानिसहरु यसमा बढि संलग्न भएको पाइन्छन् । निम्न वर्गका महिलाहरुलाई यस कार्यमा खासै रुचि देखिदैन । किनकी उनीहरुलाई मुखमा माड लगाउनै धौ धौ हुन्छ । यसरी हेर्दा व्यक्तिको स्तर, आम्दानी, कमाई आदि कुराले पनि धेरै कुरा फरक पार्दछ ।
श्रावन महिनालाई हिन्दु महिलाहरुले विशेष रुपमा मनाउँछन् । तर, पछिल्लो समय गैह्र हिन्दु धर्मालम्बी महिलाहरुले समेत हर्षोल्लासका साथ यस पर्वलाई मनाउदै आएका छन् । तत्कालीन राजा महेन्द्रको एक भाषा, एक धर्म र संस्कृति भनि हिन्दुकरणको प्रभाव त छँदै छ । त्यसमाथि विश्वव्यापीकरण, नवउदारवाद आर्थिक नीति, संस्कृतिकरणले पनि प्रभाव पार्यो । पछिल्लो समय विभिन्न सञ्चार माध्यम, बजारले महिलाहरुलाई उपभोग गर्नेतिर आर्कषित गर्ने गरेको छ ।
चाडपर्व मान्ने नाममा अनावश्यक फजुल खर्च गर्ने, अरुलाई देखाउने, देखासिखी गर्ने प्रवृति बढ्दो छ । साँच्चै भन्ने हो भने चाडपर्व मान्ने भन्दा पनि अरुलाई देखाउने वा आफूलाई प्रदर्शित गर्ने होडवाजी नै चलेको देखिन्छ ।
महिलाले लगाउने हरियो चुरा, पोते, टिका, मेहन्दी, गहना र लुगाफाटोको खपतको मात्रै बेग्लै विश्लेषण पनि गर्न सकिन्छ । कति मात्रामा हरियो चुरा, पोते, टिका, मेहन्दी, गहना र लुगा नेपालमा भित्रियो होला ? श्रावन महिना पछि अर्को ठूलो चाड हरितालिका तीज आउँदै छ । त्यसपछि दशैँ, त्यस बेलासम्म नेपालमा कति धनराशि खर्च हुन्छन् होला ? कति विदेशबाट सामान आयात हुन्छन् होला ? अनि कति पैसा अनुत्पादक काममा नासिन्छ होला ? हाम्रो कति धनराशि बाहिर जान्छन् होला ? यो अवश्य सोचनिय कुरा छ ।
चाडपर्व मान्ने नाममा अनावश्यक फजुल खर्च गर्ने, अरुलाई देखाउने, देखासिखी गर्ने प्रवृति बढ्दो छ । साँच्चै भन्ने हो भने चाडपर्व मान्ने भन्दा पनि अरुलाई देखाउने वा आफूलाई प्रदर्शित गर्ने होडवाजी नै चलेको देखिन्छ । यस्ता अनुत्पादक क्षेत्रमा लगानी बढ्दै जादा हाम्रो देश कतातिर जादैछ भन्ने जटिल प्रश्न उठ्छ । आधुनिक बन्ने नाममा यस्ता अनावश्यक संस्कृति भित्र्याउनु तर्कसंगत हुँदैन ।
लाखौँको संख्यामा खाडीमा काम गरेर युवाहरुले कमाएको पैसा हामीले यस्तै काममा फाल्दै गयौँ भने त्यो पसिनाले हामीलाई सराप्ने छ । खर्च गर्नु पहिले यो खर्चले हामीलाई कति लाभ पुग्छ, अनि समाज र राष्ट्रलाई कति लाभ पुग्छ ?
समय परिवर्तनशिल छ । तर परिवर्तन हुने क्रममा आफूलाई कहाँ उभ्याउने त्यस बारेमा पनि सोच्नु उपयुक्त हुन्छ । सबै संस्कार नराम्रा छन् भन्ने होइन । त्यसको आआफ्नै महत्व छ । त्यसका नराम्रा पक्षलाई फाली राम्रा पक्षलाई ग्रहण गर्दा हामीलाई फाइदा नै हुन्छ । तर यसरी दिनप्रतिदिन चाडपर्वलाई भड्किलो बनाउदै लाने हो भने त्यसलाई विकृति बाहेक केही भन्न सकिदैन । जुन कसैको हितमा छैन ।
लाखौँको संख्यामा खाडीमा काम गरेर युवाहरुले कमाएको पैसा हामीले यस्तै काममा फाल्दै गयौँ भने त्यो पसिनाले हामीलाई सराप्ने छ । खर्च गर्नु पहिले यो खर्चले हामीलाई कति लाभ पुग्छ, अनि समाज र राष्ट्रलाई कति लाभ पुग्छ ? त्यसैले अनुत्पादक ठाउँमा लगानी घटाउँदै जाउँ, उत्पादक ठाउँमा लगानी बढाउँ । आफू, आफ्ना सन्तती, समाज र राष्ट्रको भविष्य सुन्दर बनाउँ ।















प्रतिक्रिया