लण्डन, ११ साउन । एथ्लेटिको मड्रिडका गोलरक्षक एन्टोनियो एडनले तीनवटा पेनाल्टी प्रहारको सुन्दर बचाउ गरे भने विजयी गोल पनि गरेका छन् ।
अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आर्सनलसँग सिंगापुरमा भएको खेलमा एन्टोनियोले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाएका हुन् ।
३१ वर्षका एडान केही समयअघि मात्रै रियल बेटिसबाट एथ्लेटिको मड्रिड आएका हुन् । दोस्रो हाफमा मैदान छिरेका उनले एथ्लेटिकोबाट आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
लुसिएनो विएट्टोको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो । तर आर्सनलका किशोर खेलाडी एमली स्मिथ रोवेले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीमा पुगेको हो ।
पेनाल्टीमा एडनले आर्सनलका हेनरिक एमखितर्यान, जोसेप विलओक र एवार्ड एनकेतिहको प्रहार जोगाए । एडनले पेनाल्टीमा गोल गरे ।
एन्टोनी ग्रिजम्यान, डिएगो गोडिन र डिएगो कोस्टा बिना मैदानमा रहेको एथ्लेटिकोले पेनाल्टीमा ३ १ ले खेल जित्यो । एजेन्सी















प्रतिक्रिया