३ कार्तिक २०८३, मंगलबार

सरकार र गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीले आजै अनशन तोड्दै

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । अनसनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै २७ दिन लामो १५ औँ केसीको अनशन विहीबार नै टुंगिने भएको छ । सहमतिमा हस्ताक्षर गर्न सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको वार्तापछि सहमति हस्ताक्षर हुन लागेको हो ।

वार्तामा सरकारले संसदको पेश गरेको चिकित्सा शिक्षा विधेयक डाक्टर गोविन्द केसीका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि वार्ता सफल भएको हो ।

सहमतिलगत्तै अनशन तोडाउन नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो ।

डा. केसी चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएपछि असार १९ गते जुम्लाबाट अनसन सुरु गरेका हुन् । यसअघिको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरेपछि अनसन बस्न केसी जुम्ला पुगेका थिए ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीलाई सरकारले सेनाको हेलिकोप्टरबाट गत बिहीबार अनसनको २० औं दिनमा काठमाडौँ ल्याएको थियो ।