लण्डन, ९ साउन । बार्सिलोनाले फ्रान्सेली क्लब बोर्डोक्सबाट वेङ्गर माल्कमलाई ल्याउने भएको छ । बार्सिलोनाले २१ वर्षे माल्कमलाई ४१ मिलियन युरोमा क्लब भित्र्याउने सहमति गरेको हो ।
माल्कमलाई आफूले ल्याउन लागेको इटालियन क्लब रोमाले घोषणा गरेको भोलिपल्ट बार्सिलोनाले सहमति गरेको हो । माल्कम सोमबार नै इटालीको राजधानी रोम जाने तयारी थियो ।
रोमा र बोर्डोक्सले माल्कमको विषयमा सम्झौता भएको बताएका थिए । दुई क्लबबिच ४० मिलियन युरोमा सहमति भएको उल्लेख गरिएको थियो । तर त्यसपछि बार्सिलोना आयो, उसले माल्कमका लागि ४१ मिलियनको प्रस्ताव गर्यो ।
माल्कमले रोमा छोडेर बार्सिलोना रोजे । उनले क्याटालान क्लबसँग पाँच वर्षको सम्झौता गर्दैछन् । रोमाका स्पोर्टिङ्ग डाइरेक्टर मोन्चीले बोर्डोक्सका कारण माल्कम सम्बन्धी सम्झौता असफल भएको बताएका छन् । उनले कानुनी उपचारको खोजी गर्ने विषयमा पनि सोचिरहेको बताएका छन्।
मेडिकलका लागि रोम जाने तयारीमा रहेका माल्कमलाई बार्सिलोनाले खोस्न सफल भएको हो । माल्कमले बुधबार बार्सिलोनामा मेडिकल गर्ने अपेक्षा गरिएको छ ।
ब्राजिलको राष्ट्रिय टिममा स्थान बनाउने लाइनमा रहेका माल्कमले लिग वानमा सनन् २०१६ यता ८४ खेलमा २० गोल गरेका छन् भने १३ गोलका लागि सहयोग गरेका छन् । एजेन्सी















प्रतिक्रिया