
विनोद ढकाल/दैनिक नेपाल
काठमाडौं, , ९ साउन । के तपाईलाई लाग्छ उनी हत्यारा हुन् ? उनले ७ हत्या गरिसके, अझै पनि लाग्छ त ? हैन, उनी कुनै औषधालयका नयाँ वैज्ञानिक जस्ता हुन् । उसले ज्ञानलाई अपराधसँग जोड्ने कोशिश गर्यो ।
हो, यो अभिषेक सिंहकै प्रसङ्ग हो । जसलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले सिरियल किलर भनेको छ । हत्याको अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा कैदी छ । तर, उसले त्यहिँभित्र गएको वैशाखमा हत्या गरेपछि फेरि चर्चामा आयो । ६ हत्या बाहिर गरेर ७ औं जेलभित्रै गरिदिने अभिषेक ‘ह्यान्डसम’ छन् । प्रहरी अनुसन्धानको रिपोर्टअनुसार उनलाई अदालतले कति समय थप्छ थाहा छैन तर उनी अहिले नै ७५ बर्ष कैद भुक्तान गरिरहेका छन् । जम्मा ४० बर्षका सिंह कुनै ल्याबका ‘वैज्ञानिक’जस्तै देखिन्छन् ।
मास्टरमाइन्ड सिंहले कारागार प्रशासनका मान्छेसँग भन्ने गरेका छन्– म खानाबाट पनि विष बनाउन सक्छु ।
‘यसले कैदीबन्दीसँग गरेको कुराकानी र जेलभित्र देखाएको प्रयोगले यो खतरनाक ल्याव वैज्ञानिक जस्तो देखिन्छ । कुन चिजमा के मिलायो भने विष बन्छ वा मन्दविष बन्छ भन्ने जानकारी राखेको छ’, नख्खु कारागार प्रशासनका एक अधिकारीले भने,‘त्यहाँभित्र कुराकानी गर्दा समेत उसले यसैको अनुसन्धान गरेर बसेको जस्तो देखिन्छ ।’
सिंहमाथि ३ वटा ज्यान मुद्दा र एउटा ज्यान मार्ने उद्योगको मुद्दाको सजाय छ । जसलाई उसले भुक्तान गरिरहेको छ । सातिर दिमाग चलाउन भने छाडेका छैनन् । ‘कैदीबन्दीका खानामा समेत समस्या हुनसक्ने अवस्था आयो, अब यसलाई विशेष निगरानीमा राख्नुको विकल्प भएन । एक्लै समेत राख्नुपर्ने हुनसक्छ’, एक अधिकारीले भने,‘यसले भातबाटै पनि विष बनाउनसक्ने क्षमता राख्न सक्छ ।’
सिंहलाई भक्तपुर जिल्ला अदालले ३५ वर्ष, जनकपुर र सुर्खेत जिल्ला अदालतले २०/२० वर्षका दरले जेल सजाय तोकेका थिए ।
चाल्र्स शोभराजसँग तुलना गरिएको सिंह उभन्दा पनि डरलाग्दो हत्यारा भएको सुरक्षा अधिकारीको ठहर छ । शोभराजले युवतीको हत्या गर्ने सौख पालेको देखियो । तर सिंहले भने धनाड्यलाई मार्नका लागि योजनाबद्ध र रसायनिक प्रयोग गरेको पाइएको छ ।
‘प्रमाण नष्ट गर्ने र सकभर प्रमाण नै फेला नपर्ने गरी अपराध गर्दै आएको अनुसन्धानबाट खुलेको’ पछिल्लो पटक कारागारमा भएको हत्याबारे अनुसन्धान सकेको सीआइबीका प्रमुख नारायणसिंह खड्काले बताए ।
अभिषेकका बुवा अजयराज सिंह खेलकुद परिषद बाँकेका शाखा अधिकृत हुँदा ०६२ भदौ ८ गते तत्कालीन नेकपा माओवादीका दुई कार्यकर्ताले अजयराजलाई राजावादी भएको आरोपमा हत्या गरेपछि सिंह विस्तारै अपराधको दुनियाँमा छिरेको बयानमै उल्लेख छ ।
बुवाको हत्याको बदला (रिभेन्ज) लिने सोचले उनी सातिर दिमागको बाटो तिर लम्किए । त्यसक्रममा ‘ड्रगिस्ट’ पनि भए ।
उनले बुवाका हत्यामा संलग्न रहेको भन्दै बाँके खजुरासीका १७ र १८ वर्षका दुई युवकलाई गोली हानी हत्या गरे । उनले हत्या गरेको कुरा प्रहरीले थाहा पाएपछि उनी भारततिरै बस्न थाले ।
लामो समय भारत बसेपछि २०६४ सालमा नेपाल आएपछि योग सिकाउने, झारफुक र तन्त्रमन्त्रको धन्दा गर्दा देव शर्मा नाम राखेका थिए । देव शर्मा चर्चित नाम मात्र थिएन, ह्यान्डसम गुरु पनि थियो ।
वि.सं. २०६७ सालमा सिंहले धनाड्य मदन विक्रम राणालाई फसाए । राणाले आफ्नो जग्गा बेच्न लागेको अभिषेकलाई बताए । त्यसपछि अभिषेकले इचंगुनारायणका निरप भनिने २७ वर्षे नरबहादुर गोतामेसँग सम्पर्क गर्न सल्लाह दिए ।
गोतामेसँग मिलेर आधा सेयर खाने योजना बनाएका सिंहले पैसा नपाउने अवस्था आएपछि सुर्खेत पुराएर हत्या गरेका थिए ।
२०६९ साउन ७ गते बुद्ध भनिने जगतसिंह तामाङको पनि हत्या गरेका थिए । उनले मिलन लिम्बुसँग मिलेर जगतलाई भारतको सिलिगुढी हुँदै लखनउ लगेर हत्या गरे।
अभिषेकले जगतलाई २५ एमजीको ट्रिप्टिन नामक डिप्रेसनको औषधि दूधमा मिलाई खान दिएका थिए । त्यसपछि बेहोस भएका जगतको केही समयमै मृत्यु भयो । ‘उसलाई मेडिसिनहरूको मिलावटबाट कसरी विष बन्छ, कुन मेडिसिनको कति मात्राले मान्छे कति समयमा मर्छ भन्ने ज्ञान रहेछ’, अधिकारी भन्छन्,‘यस्तो सातिर दिमाग लगाउने योजनाबद्ध हत्यारा खतरनाक मान्नुपर्छ ।’
त्यसैगरी आफ्नै घरमा काम गर्ने सार्की तामाङलाई पनि अभिषेकले लट्ठ्याउने औषधि दिई इन्जेक्सन लगाएर हत्या गरेका थिए । आफ्ना गोप्य सूचना लिक गर्न सक्ने भन्दै उनले सहयोगीको हत्या गरेको प्रहरीले दाबी गरेको छ । ‘यस्तो खतरनाक मास्टरमाइन्ड क्रिमिनल हो यो ।’ त्यसैगरी काठमाडौं पेप्सीकोलाका निरनजंग पाण्डेलाई नागमणि खोज्न जाने बहानामा हेटौंडाको खोप्लाङमा हत्या गरे ।
जेल सुरक्षामा खछिएका एक अधिकारी भन्छन्– कुन चिजलाई मिलाएर कस्तो विष बन्छ भन्ने मास्टरमाइन्ड रहेछ । लिक्विडको ज्ञान पनि राम्रै रहेको सुनेको छु
कारागारभित्रको पछिल्लो हत्याचाहीँ, जग्गाको लालसामा भएको थियो । यो विष बनाएपछिको परिक्षण हत्या थियो । अनि जुन व्यक्तिलाई जग्गा बेचिन्छ, त्यही व्यक्तिलाई मार्ने योजना बनेपछि नक्कली जग्गा किन्ने व्यक्तिको हत्या गरियो भने, भोलिका दिनमा दाबी विरोध गर्न कोही आउँदैन र करोडौं रकम हातपर्छ भन्ने योजना बनेको थियो ।
उनलाई बैंकिङ कसुरमा नख्खु कारागारभित्र रहेका अर्का कैदी मनोज कुमार चौरसियाले साथ दिएका थिए । नक्कली लालपूर्जा बनाएर सस्तोमा जग्गा बेच्ने र ती जग्गा किन्ने व्यक्तिले किर्ते भएको थाहा पाइ उजुरी गर्लान् भनेर उनैलाई हत्या गर्ने योजना कारागारभित्रै बनेको थियो । योजना अनुसार विभिन्न वनस्पति प्रयोग गरी मन्द विष बनाउने र हत्या गर्ने योजना तय भयो । योजना अनुसार नै सिंहले धुव्रकृष्ण शर्माको सहयोगमा कारागारबाट विष बनाउन आवश्यक वनस्पति मगाए । आवश्यक वनस्पति र केमिकल आएपछि सिंहले कारागारभित्रै मन्द विष बनाए ।
उनले कारागारमै रहेका कैदी भक्तबहादुर सुनुवारलाई परीक्षण गर्ने योजना बनाए । कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका सुनुवारलाई उनले वैशाख १९ गते कारागारभित्र नै बनाएको उक्त विष खानामा मिसाएर दिएको २ दिनमा मृत्यु भयो ।















प्रतिक्रिया