३० आश्विन २०८३, शुक्रबार

ओलीको अभिव्यक्ति बलात्, प्रचण्डको ‘उदास’ हठात्

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विनोद ढकाल/टिप्पणी
काठमाडौं, ८ साउन । नेपाली कम्युनिस्ट संस्थापक पुष्पलाल श्रेष्ठ जयन्ती र कम्युनिस्ट पार्टी आवद्ध पत्रकारिता पेशामा लागेकाहरूसँगको छलफलमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाल प्रचण्डका मुहारमा अहंकार र उदास दुवै छायाँ देखिए ।

केसीविरुद्ध मुख्य विपक्षी नेपाली कांग्रेसमाथि बारम्बार शाव्दिक प्रहारमा नचुकेका दुवै अध्यक्षले डा. केसीको आन्दोलन गलत भन्नका लागि बलात् शव्द खोजे । वास्तवमा कांग्रेसको आन्दोलन भन्दा पनि केसीको सत्याग्रह देशको मुख्य एजेन्डा हो । लोकतान्त्रिक पद्दतीबाट बनेको यो सरकारको बहुमतको हुंकारको अहंकारले केसी सत्याग्रहलाई छिचोल्नचाहीँ सकेन, त्यसको अचानोमा राजनीतिक बाटो छेक्ने कांग्रेस परेको हो ।

यी दुवै दिन दुवै अध्यक्षले कांग्रेसमाथि गरेको प्रहार उनीहरूको राजनीतिक तुषको उपज मान्न सकिए पनि केसी सत्याग्रहमाथि देखाएको अहंकारी दृष्टिभाव दुखद देखिन्छ । केसीको सत्याग्रहको घोषणासँग नेकपाको बहुमत र कांग्रेसको अल्पमतको गणितिय जोडघटाउ न सन्दर्भ हो, न विषय हो । कांग्रेसले संसदमा विधेयक प्रस्तुत हुन दिएकै भए पनि केसीले सत्याग्रह छाड्ने थिएनन् । यसलाई कम्युनिस्ट अध्यक्षद्वयले एक हदमा अतिरञ्जित हिसाबले व्याख्या गर्ने कोशिश गरे, त्यसमा बल पुराइरहेको छ उनलाई घेराबन्दीमा राखेको पार्टीका विभिन्न पेशागत आवद्धता भएका संघ संगठनले ।

अध्यक्ष प्रचण्डको अनुहार सोमबार र मंगलबार केही उदास र हठात् थियो । उनलाई केसीको माग सम्बोधन गर्नुपर्छ भन्ने लागेको छ तर नेकपाभित्रको बहुमतको अहंकारविरुद्ध उत्रिने हिम्मत छैन । अथवा, त्यो विद्रोहको नेतृत्व गर्ने साहस अहिले नै गर्न सकेका छैनन् । यसर्थ, सैद्धान्तिक रुपमा उनले कांग्रेसलाई गाली गर्दै प्रश्न पनि गरे, ‘कांग्रेसको एजेन्डै सकियो ? लासको राजनीति गर्न खोजेको हो त ?’

प्रचण्डभन्दा पनि सरकारसँग सम्बन्धित सत्याग्रह आन्दोलनको मुख्य जिम्मेबार प्रधानमन्त्री ओली हुन् । तर उनी केसीको सत्याग्रहलाई मान्न तयार छैनन् । उदेकलाग्दा तर्कना छर्दै पार्टीका कार्यक्रममा केसी सत्याग्रहलाई व्यंग्यात्मक प्रहार गरेका ओलीले आफ्नो भुमिकालाई खुम्चाएर तर्क पेस गरेका छन् । उनी नेकपाका अध्यक्ष मात्र होइनन्, तीन करोड नेपाली जनताका प्रधानमन्त्री हुन् भन्ने हेक्का राख्न सकिरहेका छैनन् । र, उनलाई यस विषयको रियलाइजेशन गराउने सचिवालयको पनि कमी भएको हुनसक्छ ।

अडान भनेको इजार नफुकाली राखेको राम्रा । उनले पार्टीआवद्ध पत्रकार बोलाएर आफ्ना कुन्ठा पोख्ने होइन, समाधान खोज्नका लागि समग्र ठूला साना मिडियाका सम्पादक बोलाएर सत्य तथ्यको खोजी गर्ने, विज्ञसँग छलफल गरी समाधानका लागि पहल कदमी लिने हो । बस्तुस्थितिको जानकार हुँदाहुँदै राष्ट्रिय विषयमा प्रधानमन्त्री पार्टी कार्यालयमा पार्टीका मान्छे बोलाएर भाषण दिन्छन् ।

देशको जिम्मा लिएपछि ठेस लाग्छ, गाली खाइन्छ तर त्यसको समाधान गर्नसक्ने मात्र देशको नेता हुन्छ । सत्याग्रह अन्त्य गराउने जिम्मा प्रधानमन्त्री ओली कै हो । जहाँ जति बोले पनि केसी अडानबाट टसमस देखिने छैनन् । गल्ती, सरकारले गरेका कारण सच्याउने उत्तरदायित्व सरकारकै हुन्छ । विधेयक परिमार्जन गर्ने गल्तीका कारण अहिलेको अवस्था निम्तिएको जानकार हुँदाहुँदै सरकार आफैं निम्छरो बनिरहेको छ । आत्मरतीमा जग हसाउने लयमा लागेको छ ।

पुराना कम्युनिस्ट नेता तथा पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराई भन्छन्,‘सत्याग्रह आन्दोलनको उचित सम्बोधन हुनुपर्छ । यो लोकतन्त्रको सुन्दर आन्दोलन हो । यसमा सरकार गम्भिर बन्नैपर्ने देखिन्छ ।’

डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनको राजनीतिक फाइदा प्रतिपक्षले उठाएकै छ । दुईमत छैन । यसमा प्रतिपक्षलाई गाली गर्ने होइन, समस्या समाधान गरेर राजनीतिक चड्कन हान्ने सीप पनि देखाउनुपर्छ । अस्पतालमा २५ दिनदेखि लडिरहेको व्यक्तिको जीवन रक्षाको सवालमात्र होइन, बारम्बार प्रधानमन्त्री ओलीले बोल्ने गरेको लोकतन्त्रको ‘श्वासप्रश्वास नली’रुपी सत्याग्रहको मानकलाई बचाऊने दायित्वको सवाल हो । लोकतन्त्रको कसी एउटा झुन्डलाई सुनाएको कुन्ठा होइन, लोकले स्वीकारेको सत्याग्रह नै हो, यो मार्सी भात खुवाउने कुनै अमुक व्यक्तिको बचाऊका निम्ति आफु अनुकुलताकालाई राखेर आत्मरती देखाउने बेला होइन, यो आम मानिस, विज्ञ, लोकतान्त्रिक पद्दतीका मानकहरू राखेर छलफल गर्ने बेला भन्ने प्रधानमन्त्रीले बुझ्न आवश्यक छ ।