३ कार्तिक २०८३, मंगलबार

केसीका मागका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक, को को जाँदैछन् ?

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधनका विषयमा गम्भीर देखिएका छन् । उनले चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न मंगलबार बालुवाटारमा बैठक समेत बोलाएका छन् ।

संसदमा दर्ता विधेयकका के–के बुँदा संशोधन गर्न सकिन्छ भन्नेबारे छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमालाई बैठकका लागि बालुवाटार बोलाएको स्रोतले जनाएको छ ।

यसअघि सोमबार दिउँसो नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महान्यायाधिवक्ता अग्नि खरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच यो मुद्दा कसरी हल गर्ने भनी कुराकानी भएको थियो ।

बैठकपछि विधेयक संशोधनको विषय प्राविधिक रूपमा सल्टाउने जिम्मा नेम्वाङलाई दिइएको छ । नेम्वाङले बाँस्कोटा र माथेमालाई छलफलका लागि खबर गरे पनि राति बैठक बस्न सकेको थिएन ।

पछिल्ला केही दिनदेखि नै सरकारले डा. केसी र उनका वार्ताकारसँग अनौपचारिक छलफल जारी राखेको छ । वार्ता टोली समेत गठन गरेपनि केसीले डा. केसीले वार्ता गर्न अस्वीकार गरेका छन् ।

नेकपा नेता नारायणकाजी श्रेष्ठ आइतबारै डा. केसीलाई भेट्न अनसनस्थल पुगेका थिए । यस्तै, परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार पनि केसीको वार्ता टोलीलाई भेटेर यो मुद्दा सल्टाउन कसरी जान सकिन्छ भनी छलफल गरेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली मनमोहन अस्पताल सरकारले किनेर भए पनि यो मुद्दा सल्टाउने पक्षमा पुगेका छन् । उनले सोमबार बिहान आफूनिकट नेताहरूलाई ‘मनमोहन अस्पताल सरकारले किनेर भए पनि यो मुद्दा चाँडै सल्टाउँछु’ भनेको स्रोतले जनाएको छ ।

डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन् । यही माग रोखर केसी १५ औँ अनसनमा बसिरहेका छन् ।