न्यूयोर्क, ७ साउन । नयाँ सिजनको तयारी स्वरुप हरेक हरेक वर्ष हुने अन्तर्राष्ट्रिय च्याम्पियन्स कपका लागि अमेरिका पुगेको इंग्लिस लिभरपुल पराजित भएको छ ।
नर्थ क्यारोलिनामा आइतबार राति भएको खेलमा जर्गेन क्लोप्पको टिम लिभरपुलले सुरुमा अग्रता लिएर पनि जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग ३–१ को हार बेहोरेको हो ।
पहिलो हाफमा भर्जिल भान डेकले हेडमार्फत गोल गर्दै लिभपुललाई अग्रता दिलाएका थिए । तर त्यसपछि क्लोप्पको टिमले गोल गर्न सकेन । क्रिष्टियन पुलिसिकले पेनाल्टीमार्फत डर्टमुण्डका लागि बराबरी गोल फर्काए ।
त्यसपछि उनैले गोल गर्दै टिमलाई अग्रता दिलाए । यस्तै ज्याकोब ब्रुन लार्सनले गोल गरेपछि डर्टमुण्ड ३–१ ले विजयी भयो । विश्वकपका लागि राष्ट्रिय टिमको जिम्मापछि बिदामा रहेका धेरै स्टार खेलाडी बिना लिभरपुल अमेरिका भ्रमणमा छ ।
टिममा मोहम्मद सालह, साडिओ माने र मार्को ग्रुजिकसहितका खेलाडी मैदानमा थिएनन् । अब लिभरपुलले म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा १८ टिम सहभागी हुन्छन् र हरेकले तीन खेल खेल्छन् । खेलहरु उत्तर अमेरिका, युरोप र सिंगापुरमा हुनेछन् । एजेन्सी















प्रतिक्रिया