३ कार्तिक २०८३, मंगलबार

केसी समर्थक आन्दोलनमा बन्दुक निकाल्ने ‘हवल्दार बडिगार्ड’को चर्चा

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । डा. गोविन्द केसी सोलिडारिटीमा निस्किएको र्यालीमा भएको धरपकड र लाठीचार्जको चर्चा एकातिर छ, अर्कातिर सोही ठाउँमा बन्दुक निकाल्ने सशस्त्र प्रहरी बलका एकजना हवल्दारको चर्चा हुन थालेको छ ।

फिल्मी शैलीमा पेस्तोल निकालेर भिडको नजिक देखिएका हवल्दार  नरेन्द्र बमको चर्चा फेसबुकमा हुन थालेको छ । केसी समर्थक, नेपाली कांग्रेसका कार्यकर्ताहरूले हवल्दार बमको नियतमाथि प्रश्न उठाउँदै तस्बिर भाइरल बनाउन थालेका छन् ।

बम ७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री र्घि सोडारीका बडिगार्ड हुन् । मन्त्रीको सुरक्षाका निम्ति उनलाई पेस्तोलको सुविधा दिइएको छ । आन्दोलनका क्रममा मन्त्री राजधानीमा रहेका बेला बम सुरक्षारार्थ खटिएका छन् ।

केही प्रदर्शनकारी र केसी समर्थकले प्रश्न गरेका छन्,‘हवल्दार बम आन्दोलन नियन्त्रणमा खटिएका थिएनन् तर त्यहाँ देखिए । यदि यो पेस्तोल चलेको भए के हुन्थ्यो ?’

केसी समर्थकले प्रहरी र कम्युनिस्ट कार्यकर्तालाई भिडमा उभ्याएर आन्दोलनलाई हिंस्रक बनाउने कोशिश गरेको पनि आरोप लगाएका छन् ।