
काठमाण्डौं, ३ साउन । विश्वकप फुटबल सकिएसँगै यतिवेला खेलाडीहरुलाई आफ्नो क्लबमा अनुबन्ध गर्ने होडबाजी सुरु भएको छ ।
विश्वभर नाम चलेका खेलाडीहरु पनि आफ्नो कुशलता अनुसारको मुल्यमा विभिन्न क्लबमा प्रवेश गर्ने प्रक्रिया सुरु भएको छ । खेलकुद बजारमा किर्तिमानी मुल्यमा चर्चित खेलाडी किनबेचको श्रृङ्खला सुरु भएको छ ।
ब्राजिलियन गोलरक्षक एलिसन कीर्तिमानी मूल्यमा लिभरपुल जाने खबर सार्वजनिक भए लगत्तै दुई उत्कृष्ट खेलाडीलाई रियल मड्रिडले आफ्नो क्लवमा अनुबन्ध गर्नेबारे छलफल सुरु गरेको छ ।
एलिसनलाई ६७ मिलियन पाउण्ड अर्थात ७५ मिलियन यूरो तिर्न लिभरपुल तयार भएको छ। ब्राजिलबाट विश्वकप खेलेका एलिसनले सबै पाँच खेल खेल्दै तीन खेलमा कुनै पनि गोल खाएका थिएनन् ।
गोल रक्षकका लागि लिभरपुलले खर्च गर्न लागेको यो अहिले सम्मकै उच्च रकम हो । यसअघि सन् २००१ मा जियानलुइजी बफोनको लागि युभेन्ट्सले पार्मालाई ५३ मिलियन यूरो तिरेको थियो ।
उता रियल मड्रिडले दुई खेलाडी थिबाउट कोट्वा र इडेन हाजार्डलाई आफ्नो क्लबमा अनुबन्ध गर्ने विषयमा छलफल सुरु गरेको छ । प्रारम्भिक जानकारी अनुसार रियलले हाजार्डलाई कीर्तिमानी २०० मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ ।
क्रिष्टियानो रोनाल्डोलाई एक सय मिलियन पाउण्डमा युभेन्टसलाई बेचेको रियल मड्रिड उनको स्थानमा उपयुक्त खेलाडीको खोजीमा रहेको छ ।















प्रतिक्रिया