३ कार्तिक २०८३, मंगलबार

अन्ततः जुम्लाबाट काठमाडौँ फर्किए डा. गोविन्द केसी

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ साउन । जुम्लामा अनसनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन् । डा. केसीलाई लिएर सेनाको हेलिकोप्टर जुम्लाबाट काठमाडौं प्रस्थान गरेको छ ।

हेलिकोप्टर केही समयमा काठमाडौँ आउनेछ । केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखे उपचार गराउने तयारी छ । २० दिनदेखि जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकोप्टर बिहीबार बिहान जुम्ला पुगेको थियो ।

डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो । डा. केसीका समर्थकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी लगायतलाई दुर्व्यवहार गरेका थिए ।

भीड नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज तथा अश्रुग्याँस प्रहार गरेको थियो । साथै एक राउन्ड गोली पनि चलेको थियो । गोली लागेर प्रहरी नै घाइते भएका छन् । उनको जुम्लामा नै उपचार भइरहेको छ । समर्थकलाई प्रहरीले धरपकड गरेपछि डा. केसी काठमाडौँ आउन राजी भएका हुन् ।

काठमाडौँ फर्किन राजी भएका केसीले सरकारी हेलिकोप्टरमा नआउने अडान राखेका थिए । तर, उनी अन्ततः सेनाकै हेलिकोप्टरमा काठमाडौँ आउन सहमत भए ।