
काठमाडौँ, ३ साउन । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएको बताइएको छ ।
केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ । यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन् ।
त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको बल प्रयोगबाट केसीका समर्थक विद्यार्थी तथा केही स्थानीय घाइते भएका छन् ।डा. केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर हो भने माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् । केसीलाई काठमाडौँ ल्याएर उपचार गरि वार्ता गर्ने सरकारको तयारी छ ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन लागिएको यसअघि नै स्पष्ट पारिसकेका छन् ।















प्रतिक्रिया